त्रिभुवन विमानस्थलको ‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयरफिल्ड लाइटिङ प्रणाली’मा समस्या आउँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएको छ।

काठमाडौँ– प्राविधिक गडबडीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ उडान र अवतरण अवरुद्ध भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयरफिल्ड लाइटिङ प्रणाली’मा विद्युतीय गडबडी आउँदा उडान र अवतरण प्रभावित भएको हो।

विमानस्थलका निर्देशक तथा प्रवक्ता रेञ्जी शेर्पाका अनुसार शनिबार साँझ ५ बजेर ३० मिनेटदेखि उक्त प्रणालीमा समस्या देखिएको हो।

समस्याका कारण केही जहाज आकाशमा ‘होल्ड’मा छन् भने केहीलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

उनले आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकेको र अन्तर्राष्ट्रियतर्फका केही जहाजलाई आकाशमा होल्ड गरिएको जानकारी दिए।

प्रवक्ता शेर्पाले काठमाडौँ आउन लागेका आन्तरिक उडानका जहाजहरू भने सम्बन्धित गन्तव्यमै रोकिएको उल्लेख गरे।

रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ। 

समस्या समाधानका लागि प्राविधिक प्रयास भइरहेको उनको भनाइ छ। समस्या समाधान भएपछि शीघ्र नियमित उडान तथा अवतरण सुचारु हुने उनले बताए।