भारतको भान्तारा चिडियाखानामा पुनः पशु अधिग्रहण विवाद

पश्चिमी गुजरात राज्यमा अवस्थित यो विशाल चिडियाखानालाई आधिकारिक रूपमा हरित प्राणीशास्त्रीय उद्धार तथा पुनर्वास केन्द्रका रूपमा चिनिन्छ।

भारतको मेगा–चिडियाखाना भान्तारा फेरि विवादको घेरामा परेको छ। प्रमुख वन्यजन्तु संरक्षण विज्ञले उक्त संस्थाले सामूहिक अधिग्रहण गरेका जनावरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। विश्वका सबैभन्दा दुर्लभ र खतरामा परेका प्रजातिको आयात तत्काल रोक्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।

पश्चिमी गुजरात राज्यमा अवस्थित यो विशाल चिडियाखानालाई आधिकारिक रूपमा हरित प्राणीशास्त्रीय उद्धार तथा पुनर्वास केन्द्रका रूपमा चिनिन्छ। भान्ताराले हालका वर्षहरूमा दशौँ हजार जनावर उद्धार गरेको दाबी गरेको छ। यसबारे सर्वोच्च अदालतले समेत गलत आचरण नभएको ठहर गरेको थियो।

तर, भान्ताराले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गर्दै अत्यधिक खतरामा रहेका प्रजाति आयात गरेको अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार नियमन संस्था साइटिसले जनाएको छ। हालै प्रकाशित प्रतिवेदनले भान्ताराले गरेका आयात विश्वका सबैभन्दा दुर्लभ र खतरामा परेका प्रजातिको संरक्षण नियमको विपरित रहेको जनाएको छ। 

विज्ञहरूले भान्ताराले ‘अन्जानमा जंगली जनावरको अवैध कारोबारलाई प्रोत्साहन नदेओस्’ भनी सशक्त सुधारका लागि भारत सरकारलाई सिफारिससमेत गरेका छन्। भान्तारा र भारतको वातावरण मन्त्रालयले यसबारे जवाफ दिएका छैनन्।

संरक्षणविद्ले भान्ताराको जनावर संख्यामा बारम्बार शंका व्यक्त गर्दै आएका छन्। उक्त संस्थाले एक लाख ५० हजार जनावर रहेको दाबी गरेको भए पनि साईटीसका अधिकारीहरूले सेप्टेम्बरमा गरेको निरीक्षणमा झण्डै ४७ हजार जनावर मात्र फेला परेको बताएका छन् ।

“यो प्रतिवेदनले उत्तरभन्दा बढी प्रश्न खडा गर्छ। संख्यामा यस्तो विसंगति किन? संसारका यति धेरै प्रजातिका जनावर किन ल्याइएका छन्? तिनीहरूको आपूर्तिकर्ता को हुन् र के यी जनावर नाफाको लागि व्यापार भइरहेका हुन्?” वाइल्डलाइफ संस्था बोर्न फ्रीका नीति प्रमुख मार्क जोन्सले भने। 

साइटिसको प्रतिवेदनले भान्तारामा विश्वका सबैभन्दा दुर्लभ ठूला बाँदर, जस्तै: इन्डोनेसियाको तपानुली ओरांगुटानलगायतका खतरामा परेका जनावरको आयातमा शंका प्रकट गरेको छ।

प्रतिवेदनअनुसार भान्ताराले दुई हजारभन्दा बढी एपेन्डिक्स–१ श्रेणीका अत्यधिक खतरामा परेका जनावर र करिब नौ हजार कम जोखिममा रहेका प्रजाति आयात गरेको छ।

स्वतन्त्र वन्यजन्तु विशेषज्ञ डेनियल स्टाइल्स भन्छन्, “यो प्रतिवेदन भान्ताराको वास्तविक मूल्यांकन हो। अब हेर्न बाँकी छ– यसपछि सुधारका ठोस कदम चालिन्छन् कि?”

साइटिसले भारतलाई यस सम्बन्धी प्रगतिको प्रतिवेदन पेश गर्न आग्रह गरेको छ। भारतले उचित सुधार नगरेको खण्डमा अन्तर्राष्ट्रिय व्यापार निलम्बनजस्ता प्रतिबन्धात्मक कदमको सामना गर्न सक्ने चेतावनी दिइएको छ।

भारत र दक्षिणपूर्व एसियामा लामो अनुभव भएका संरक्षण विज्ञ के. योगानन्द भन्छ्, “यी आयातमा देखिएका अनियमितताले भारतको अन्तर्राष्ट्रिय संरक्षण विश्वसनीयतामाथि गहिरो असर पारेका छन्। अब भारतले विश्वसनीयता पुनःस्थापित गर्न उदाहरणीय र पारदर्शी कदम चाल्न आवश्यक छ।” (रासस/एएफपी)