लागुऔषधसहित पक्राउ गरेका व्यक्तिको घरबाट रिभल्वर बरामद

काठमाडौँ महानगरपालिका–१२, टेकुको ह्युमतबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिको घरबाट प्रहरीले दुई वटा रिभल्वर बरामद गरेको छ।

काठमाडौँ– प्रहरीले काठमाडौँ महानगरपालिका–१२, टेकुको ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही छन्। उनीहरूको कोठाबाट ९२० मिलिग्राम उक्त पदार्थ, ३२ हजार नगद र पाँच थान मोबाइल बरामद गरिएको छ।

थप अनुसन्धानका क्रममा उनीहरूको बयानका आधारमा सुजन श्रेष्ठको घरमा लुकाएर राखेको एक थान रिभल्वर र चार राउन्ड गोली तथा घरपछाडि लुकाइएको अर्को एक थान रिभल्वर र दुई राउन्ड गोलीसमेत फेला परेको आचार्यले बताए।

“हाम्रो टोली र प्रहरीवृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो,” सूचना अधिकारी आचार्यले भने, “थप अनुसन्धानका क्रममा उनीहरूको कोठाबाट शनिबार दुई थान रिभल्भर र गोली बरामद गरिएको छ।”

घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी आचार्यले बताए।