जापानमा ६.७ रेक्टरको शक्तिशाली भूकम्प, उत्तरपूर्वी तटमा सुनामीको चेतावनी

जापान मौसम विज्ञान एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

जापानमा आइतबार साँझ ६.७ रेक्टर स्केल (म्याग्निच्युड)को शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जीएमटी) इवाटे प्रान्तको समुद्री क्षेत्रमा केन्द्रित थियो। एजेन्सीले करिब एक मिटर (तीन फिट) उचाइको सुनामी आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

संयुक्त राज्य अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड मापन गरेको जनाएको छ।

जेएमएले इवाटे तटका लागि ‘सुनामी सल्लाह’ जारी गरिएको बताउँदै समुद्री छालहरू कुनै पनि क्षण तटीय क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ। यसैबीच, राष्ट्रिय प्रसारणकर्ता एनएचकेले अपतटीय क्षेत्रमा सानो सुनामी छालहरू देखिएको पुष्टि गर्दै जनतालाई समुद्र तटबाट टाढा रही उच्च स्थानमा जान आग्रह गरेको छ।

जापानी टेलिभिजनहरूले प्रत्यक्ष प्रसारणमार्फत समुद्र अपेक्षाकृत शान्त देखिएको भए पनि अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

यो क्षेत्र सन् २०११ को विनाशकारी ९.० रेक्टरको समुद्रमुनिको भूकम्पको पीडादायी स्मृतिले अझै त्रसित छ। उक्त भूकम्पले विशाल सुनामी निम्त्याएको थियो, जसका कारण करिब १८ हजार ५०० मानिसको ज्यान गएको थियो वा बेपत्ता भएका थिए।

यही सुनामीका कारण फुकुसिमा आणविक ऊर्जा संयन्त्रका तीन रिएक्टर पग्लिएका थिए, जसले जापानको इतिहासमा सबैभन्दा ठूलो प्रकोप र चेर्नोबिलपछिको विश्वकै दोस्रो ठूलो आणविक दुर्घटना निम्त्याएको थियो।

जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ भनिने क्षेत्रको पश्चिमी किनारमा अवस्थित छ, जहाँ चार प्रमुख टेक्टोनिक प्लेटहरू एकआपसमा ठोक्किन्छन्। यस कारण जापान विश्वका सबैभन्दा भूकम्पीय रूपमा सक्रिय राष्ट्रहरूमध्ये एक हो।

झन्डै १२ करोड ५० लाख जनसङ्ख्या भएको यो द्वीपसमूहमा प्रत्येक वर्ष करिब १५०० भन्दा बढी भूकम्पीय धक्का अनुभव हुने गर्दछ। तीमध्ये अधिकांश हल्का प्रकृतिका हुन्छन्, तर क्षतिको स्तर भूकम्पको गहिराइ र केन्द्रविन्दु नजिकका बस्तीहरूमा निर्भर गर्दछ।