नेप्से परिसूचक ३० अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.०२ अंक अर्थात् १.१५ प्रतिशतले घटेर २५६६.०९ को विन्दुमा झरेको छ। यसअघि बिहीबारको कारोबारमा नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको थियो।

नेप्सेसँगै आइतबार कारोबार रकममा पनि गिरावट आएको छ। बिहीबार पाँच अर्ब ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आइतबार भने कुल ३२३ स्टकको ४७ हजार २६८ कारोबारबाट चार अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबरको एक करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच भएको छ।

सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः ५.९०, २.४२ र २.२१ अंकले घटेका छन्। आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।

आइतबार दरमखोला हाइड्रो इनर्जी, माबिलुंग इनर्जी र सागर डिष्टिलरीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सर्किट लागेसँगै दरमखोला हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँ बढेर ४८६.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ। माबिलुंग इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ४२.२० रुपैयाँले बढेर ४६४.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक २७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर पनि सर्वाधिक कारोबार हुनेमा परेका छन्।