अमेरिकामा ‘शटडाउन’को असर: धमाधम रद्द हुँदै हवाई उडान, यात्रुहरू समस्यामा

विज्ञहरूका अनुसार उडान रद्द हुने दर बढ्दै गए आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति अझ भयावह बन्न सक्छ। यसको असर हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि पर्नेछ। पर्यटन क्षेत्रमा भने नकारात्मक प्रभाव देखिन थालिसकेको छ।

अमेरिकामा जारी ‘शटडाउन’का कारण हवाई सेवामा व्यापक प्रभाव परेको छ। संघीय उड्डयन प्रशासन (एफएए)ले हवाई यातायात घटाउन आदेश दिएसँगै अमेरिकी एयरलाइन्सहरूले सप्ताहान्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन्। शटडाउन कहिले अन्त्य हुने भन्ने यकिन नहुँदा देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका छन्।

जसका कारण देशका व्यस्त विमानस्थलहरू अस्तव्यस्त बनेका छन् भने असर गहिरिँदै गएको छ। योसँगै यात्रुहरूको गुनासो पनि बढ्दो छ। डोमिनिकन गणतन्त्रमा आफ्नो परिवार भेट्न गइरहेकी मियामीकी ३६ वर्षीया एमी होल्गुइनले भनिन्, “हामी सबै कतै न कतै जानै पर्छ। म आशा गर्छु, सरकारले छिट्टै समाधान गर्छ।”

विश्लेषकहरूका अनुसार, उडान रद्द हुने दर यस्तै स्तरमा बढ्दै गए आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति झन् भयावह हुन सक्छ। यसले हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि असर पार्नेछ। पर्यटन र छुट्टीका सामान ढुवानीमा नकारात्मक प्रभाव पर्न थालिसकेको बताइएको छ।

उडान रद्दको तथ्यांक
उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार मात्र १ हजार ५०० भन्दा बढी उडान रद्द भएका थिए। अघिल्लो दिन (शुक्रबार)यो संख्या एक हजार पुगेको थियो। अमेरिकी एयरलाइन्सहरूले आइतबारका लागि पनि थप एक हजारभन्दा बढी उडान रद्द गरिएको जनाएका छन्। एटलान्टा, शिकागो, नर्थ क्यारोलिनाको शार्लोट र न्युजर्सीको नेवार्क विमानस्थलमा दिनभर अवरोधका समाचार आएका छन्। विशेषगरी न्युयोर्क वरपरका विमानस्थलहरूमा हवाई नियन्त्रकहरूको अभावले ढिलाइ र रद्द बढाएको हो।

एफएएले प्रारम्भिक रूपमा ४० प्रमुख विमानस्थलमा सबै व्यावसायिक एयरलाइन्सका लागि चार प्रतिशत उडान कटौती गरेको थियो। शुक्रबारसम्म यो कटौती बढेर १० प्रतिशत पुगेको छ। मंगलबार फेरि उडान कटौतीमा वृद्धि हुने अपेक्षा गरिएको छ।

यातायात मन्त्री सिन डफीले शटडाउन लामो समयसम्म जारी रह्यो भने अझ धेरै हवाई यातायात नियन्त्रकहरू तलबबिना काम गर्न अस्वीकार गर्न सक्ने र त्यसले थप उडान कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।

उडान किन रद्द भइरहेका छन्?
हवाई यातायात नियन्त्रकहरूले लगभग एक महिनादेखि तलबबिना काम गरिरहेका छन्। धेरैजसो कर्मचारीहरू बिरामीको बहानामा काममा अनुपस्थित हुन थालेका छन्। नेसनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनका अनुसार अधिकांश नियन्त्रकहरूले हप्ताको ६ दिनसम्म तलबबिना ओभरटाइमसमेत गर्न बाध्य छन्। कतिपयले खर्च जुटार्न दोस्रो रोजगारी लिनुपरेको छ।

शटडाउन अन्त्य गर्न माग गर्दै उक्त संघले शनिबार अमेरिकी कांग्रेसका सदस्यलाई १ हजार ६०० हस्तलिखित पत्र पठाएको बताएको छ।

यात्रुहरूको अवस्था
उडान रद्द भएका धेरै यात्रुहरूले शुक्रबारको तालिका केही सामान्य देखिएपछि राहत महसुस गरे पनि उनीहरू पुनः बुकिङका लागि लामो प्रतीक्षामा छन्। लामो दूरीका अन्तर्राष्ट्रिय उडानहरू भने अहिलेसम्म प्रभावित भएका छैनन्, तर यात्रुहरू अनिश्चितताबाट त्रसित छन्।

शनिबार क्रुज यात्रा सकेर प्युटो रिको फर्किनुपर्ने मियामीकी ४६ वर्षीया हिथर जुले भनिन्, “यात्रा आफैँमा तनावपूर्ण हुन्छ। त्यसमा पनि यस्ता अवरोधले सबथोक अझ कठिन बनाउँछ।”

भाडाका सवारी कम्पनीहरूले एकतर्फी आरक्षणमा तीव्र वृद्धि भएको जनाएका छन्। केही यात्रुले उडान रद्द गर्दै वैकल्पिक यात्रा विकल्प रोजिरहेका छन्।

न्युजर्सीकी डायना अल्वियरले अर्को सप्ताहन्त क्यालिफोर्नियामा सासूलाई भेट्न बनाइएको पारिवारिक योजना रद्द गरिन्। नियन्त्रकहरूको कमी र लामो कार्यघण्टाका कारण उनले उडान सुरक्षामा चिन्ता व्यक्त गरिन्।

“हामीले उडान रद्द गर्नुपर्‍यो। युनाइटेड एयरलाइन्सले टिकटको रकम फिर्ता गरे पनि एयरबीएनबीमा झण्डै सात सय डलर जम्मा रकम फिर्ता भएन”, उनले भनिन्, “यो हाम्रो लागि आर्थिक रूपमा कठिन र भावनात्मक रूपमा निराशाजनक छ।”

अर्थतन्त्रमा असर
उडान रद्दले केवल यात्रुहरूलाई मात्र नभई अर्थतन्त्रका अन्य क्षेत्रमा पनि असर पार्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्। अमेरिकाको झण्डै आधा हवाई कार्गो यात्रुवाहक विमानमा पठाइने भएकाले ढुवानी अवरोधले बजारमा मूल्य वृद्धि गराउन सक्छ।

सिराक्युज विश्वविद्यालयका आपूर्ति शृंखलाविज्ञ प्रा. प्याट्रिक पेनफिल्डका अनुसार प्रमुख हवाई ढुवानी सेवा प्रभावित रहिरहे उच्च ढुवानी लागत अन्ततः उपभोक्तामा सर्ने छ।

एलिभेट एभिएसन ग्रुपका प्रमुख कार्यकारी ग्रेग राइफका अनुसार शटडाउन जारी रहेसम्म उडान अवरोध र यसको असर थप गहिरिँदै जाने निश्चित छ। उनी भन्छन्, “यो बन्दले कार्गो विमानहरू र व्यापारिक यात्रुहरूलाई मात्र नभई सम्पूर्ण पर्यटन उद्योग र शहरको राजस्व संकलनलाई असर पार्नेछ। होटल र स्थानीय कर आम्दानीमा समेत गिरावट आउनेछ।”