नक्कली भुटानी शरणार्थी प्रकरण: फरार निरञ्जन खरेल पक्राउ

सीआईबीका अनुसार, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका निरञ्जनकुमार खरेलको भूमिका ठगीबाट संकलन गरिएको नगद तथा चेकमार्फत प्राप्त रकम जम्मा गर्ने र ओसारपसार गर्ने थियो।

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित कसुरमा संलग्न एक फरार प्रतिवादी पक्राउ परेका छन्।

रौतहटको फतुवा हर्साह–९ का ४२ वर्षीय निरञ्जनकुमार खरेल (उर्फ नीराजन) लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले गोप्य सूचनाका आधारमा खरेललाई कात्तिक २१ गते पक्राउ गरिएको जानकारी दिए।

जिल्ला प्रहरी परिसर काठमाडौँमा आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएको ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा खरेलको संलग्नता पुष्टि भएको थियो।

सीआईबीका अनुसार, खरेलको भूमिका ठगी कसुरमा संकलन भएको नगद तथा चेकमार्फतको रकम जम्मा गर्ने र ओसारपसार गर्ने रहेको थियो। उनी गैरकानूनी रूपमा ठगी तथा कागजात किर्ते गरी पीडितबाट असुल गरिएको रकम लिने गिरोहसँग मिलेमतोमा संलग्न रही फरार थिए। खरेललाई थप आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको प्रकरणको मुद्दा अहिले काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डेलगायत व्यक्तिहरूविरुद्ध मुद्दा दायर भएको हो। उनीहरूविरुद्ध सरकारी कागजात किर्ते, ठगी, राज्यविरुद्धको कसुर र संगठित अपराध गरी चार वटा कसुरमा कारबाहीको माग गरिएको छ।