किसानहरूलाई पहिले आफैँले सुन्तला बजारमा पुर्याउँदा मूल्य निर्धारण र कुन ठाउँ लैजाने भन्ने चिन्ता हुन्थ्यो। तर अहिले गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउन पाएकाले बिक्रीमा सहजता भएको छ।
त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका किसान गेशबहादुर राना यस वर्ष बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री गर्न पाउँदा उत्साहित छन्। अघिल्ला वर्षहरूमा बजार खोज्दै हिँड्नुपर्ने र कम मूल्यमा बेच्नुपर्ने अवस्था रहेकामा अहिले बगैँचाबाटै सहजै सुन्तला बिक्री भइरहेकाले आफूलाई खुसी लागेको उनले बताए।
“एक त सहज रूपमा बगैँचाबाटै सुन्तला बिक्री भएको छ, अर्कोतर्फ अघिल्ला वर्षको भन्दा धेरै मूल्य पाएकाले किसान उत्साहित बनेका छन्,” रानाले भने। गत वर्ष प्रतिकिलो ५० देखि ५५ रुपैयाँसम्म सुन्तला बिक्री भएकामा अहिले मूल्यसमेत केही बढेको उनले बताए।
जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रूपमा चिनिएको बबकका सुन्तला किसानले सहजै बगैँचाबाटै सुन्तला बिक्री गर्दै आएका छन्। रानाका अनुसार स्थानीय व्यापारीले बगैँचाबाटै हाल प्रतिकिलो ६० देखि ६५ रुपैयाँसम्ममा सुन्तला खरिद गर्दै आएका छन्।
नवलपुरको पहाडी क्षेत्रमा लगाइएको सुन्तला टिप्न यतिबेला किसान व्यस्त छन्। टिपिएका सुन्तला गाउँबाटै बिक्री हुँदा थप सहज भएको बुलिङ्टार–५, राइकोटका सुन्तला किसान कृष्ण सारुले बताए। उनको बगैँचामा मात्रै करिब एक हजार सुन्तलाका बोट छन्। सुन्तला पाकेपछि स्थानीय बजारमा बिक्री गर्दै आएको उनले बताए।
मौसम राम्रो भएकाले यसपटक सुन्तलाको दाना पनि राम्रो लागेको र बजार भाउ राम्रो प्राप्त भएको सारुको भनाइ छ।
उत्पादन भएको सुन्तला स्थानीय कावासोती बजार क्षेत्रमा नै आफूले खपत गर्दै आएको सारुले बताए। “अहिले सुन्तला बजार पठाउने क्रम छ, जिल्लाका स्थानीय बजारमा खपत हुँदै आएको छ, पछि के हुन्छ हेरौँ,” सारुले भने।
जिल्लाको पहाडी क्षेत्र बबक, राइकोट, जौवारी, ढोडेनी, देउरालीलगायत क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको छ। अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन्। स्थानीय व्यापारी बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्। कतिपय व्यापारीले फोन गरेर सुन्तला माग गरेपछि पठाइदिने गरेको बबकका किसान रानाले बताए।
नवलपुरका स्थानीय बजारसँगै चितवनको नारायणगढबाट सुन्तला माग हुँदै आएको उनले बताए। “व्यापारीले माग राम्रै गरिरहेका छन्, यही मूल्य तय गरी जोखेर पठाए मात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन,” रानाले भने।
किसान आफैँले सुन्तला बजारमा पुर्याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकामा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उनको भनाइ छ। गाउँका विभिन्न स्थानमा स्थानीय व्यापारीले समेत सुन्तला सङ्कलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन्। यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ।
नवलपरासी पूर्व नवलपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरद्वारा सुन्तला जातका फलफूल जोन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा व्यावसायिक रूपमा सुन्तलाको उत्पादन बढ्दै गएको छ। कार्यालयका सूचना अधिकारी रणबहादुर महतोका अनुसार नवलपुरमा १८० हेक्टर क्षेत्रफल सुन्तला जात फलफूलको उत्पादनशील क्षेत्र रहेको छ।
महतोका अनुसार, गत आर्थिक वर्षमा नवलपुरमा १,४०० टन सुन्तला उत्पादन भएको थियो भने कागती १८ टन उत्पादन भएको थियो। गत वर्ष किसानले सुन्तला बिक्रीबाट करिब आठ करोड ९० लाख र कागती बिक्रीबाट १७ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
