मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

लोसपाको नेतृत्वमा ५ दलीय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए।

काठमाडाैँ– मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन्।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। यादवलाई आजै बिहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो।

हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलीय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए।

बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भनेर काठमाडौँ जान लागेको सूचना दिएकी थिइन्। प्रदेश प्रमुख भण्डारीले काठमाडाैँ जाने क्रममा बाटोमै एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको जनाइएको छ।

अहिले सामाजिक सञ्जालमा प्रदेश प्रमुख र एमालेको व्यापक विरोध भइरहेको छ।