महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन्।
कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ शुरू गरिएको थियो। तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत उल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ।
सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नम्बर १ सम्म ४१३ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ। सडक निमार्णपछि सुदूरपश्चिमका करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्त्व पनि धेरै नै रहेको छ।
साथै, धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलब्ध हुने देखिन्छ। तर प्रक्रियागत उल्झन र बजेट अभावले योजनाले अपेक्षित गति लिन सकेको छैन। सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको महाकाली करिडोर निर्माणका लागि न्यून बजेट विनियोजन हुँदा निर्माणको काम ठप्प जस्तै भएको छ।
चालु आर्थिक वर्षमा करिडोर निमार्णका लागि २२ करोड ९७ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको महाकाली करीडोर सडक (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना कार्यालयका योजनाका सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिए। उक्त बजेटले निर्माण व्यवसायीको समेत भुक्तानी गर्न नसकिने उनको भनाइ छ।
“योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब दायित्व भुक्तानी गर्नु पर्नेछ,” उनले भने, “चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ, यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन।” उनले यही गतिमा बजेट बजेट आए योजना सम्पन्न गर्न अझै वर्षौं लाग्ने बताए।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ। करिडोरअन्तर्गत डडेल्धुरामा करिब २७, बैतडीमा नौ र दार्चुलामा १८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ। करिडोरको हालसम्म करिब ५ किलोमिटर सडक कालोपत्र गरिएको छ। विभिन्न स्थानमा कालोपत्रका लागि ठेक्का भएर काम चलिरहेको भए पनि बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन सकिने अवस्था नरहेको योजना कार्यालयले जनाएको छ।
दार्चुलाको मालिकार्जुन र खलङ्गा–हिकिला खण्डमा कालोपत्रका लागि काम भइरहेको छ। योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा १४४ किलोमिटर र दार्चुलामा १२१ किलोमिटर सडक निमार्ण हुनेछ। यसमध्ये कञ्चनपुरमा ११ किलोमिटर ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किलोमिटर ट्रयाक खुलेको छ। त्यसैगरी बैतडीमा ११४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर ट्रयाक खुलेको छ। तुसारापानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर सडक खण्डमा ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ।
डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेको छ। हाल योजनाले छ वटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमिमा सडक कालोपत्रको काम निमार्णधीन छ।
करिडोरअन्तर्गत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०/१० किमि गरी दुई प्याकेजमा सडक कालोपत्रको काम निर्माणाधीन छ।
आव २०६५/६६ देखि शुरू भएको करिडोरको शुरूको कुल लागत अनुमान १८ अर्ब १६ करोड रुपैयाँमा आव २०८०/८१ सम्म पूरा गर्ने लक्ष्य रहेको थियो। तर बजेट अभाव, रुख कटानलगायतका प्रक्रियागत उल्झनले योजनाको लागत र समय लम्बिदै गएको छ।
योजना शुरू हुँदा उत्साह, अहिले निराशा
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरी यहाँ आएका थिए। त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उनमा उत्साह थियो। करिडोर यातायातको सुविधा मात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावनाहरू खुल्ने अपेक्षामा थिए उनी।
आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँका स्थानीयवासीमा आफूहरूको आर्थिक अवस्था फेरिने आशा पलाएको थियो। तर उक्त सडक निर्माण हुन्छ भनेको सुनेको पनि डेढ दशक भइसकेको छ। “त्यो बेला सडक निर्माण हुन्छ भन्ने सुनेपछि धेरै खुशी भएका थियौँ,” थापाले भने, “एकातर्फ महेन्द्रनगर बजार सहज पहुँच हुने र सडक बनेपछि शिक्षा, स्वास्थ्य र व्यापार हुने ठूलो आशा थियो तर अहिलेसम्म बनेन।” उक्त क्षेत्रमा करिडोरको ट्रयाक खुलेको छ तर यात्रा गर्न सहज छैन। वर्षातको समयमा त उक्त सडक बन्द हुने गरेको उनको भनाइ छ।
“सडक नहुँदा बिरामीलाई बोकेर अस्पताल लग्नुपर्ने बाध्यता आउँछ गाउँमा न स्वास्थ्य संस्था छ न विद्यालय नै,” उनले भने, “हाम्रो मुख्य समस्या भनेकै सडक हो सडक नहुँदा निकै सास्ती खेप्नु परेको छ।”
यस्तै, दुई घण्टा पैदल विद्यालय जानुपर्ने बाध्यताले नातिनीलाई अध्ययनका लागि कैलालीको लम्कीस्थित भाइको घरमा पठाएको बताए। अहिले पनि स्थानीय उत्पादन बिक्री गरेर आम्दानी गरिरहेको बताउँदै सडक सञ्जालले जोडिए यहाँका स्थानीयको आर्थिक सुधार हुने उनको भनाई थियो।
बाइस वर्षदेखि यहाँको टुँडिखेलमा बस्दै आएका लीला पुनमगर पनि करिडोर निर्माण हुने खबरले उत्साही भएका थिए। तर सडक निर्माणमा ढिलाइ हुँदा भने उनको उत्साह पनि निराशामा परिणत भएको छ।
“करिडोर बन्छ भन्ने सुनेको १२ वर्षपछि ट्र्याक खुलेको छ अझै आशा मरेको छैन तर सडक बनिसक्नु पर्ने समयसम्म पनि नबन्दा शुरूको जस्तो उत्साह छैन,” उनले सुनाए, “सरकारले ढिलाइ गर्नु भएन, यो सडकलाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ।” उनले सडक निमार्णपछि लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने बताए।
महाकाली करिडोरले यातायातको पहुँचसँगै भारतसँगको व्यापारिक पहुँच, घरेलु उद्योगको विस्तार र पर्यटन सम्भावनामा ठूलो भूमिका खेल्नसक्ने यहाँका स्थानीय रमेश नायक बताउँछन्। “यो सडक यातायातका लागि मात्रै नभई व्यापारिक हिसाबले महत्वपूर्ण छ,” उनले भने, “सरकारको पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणलाई पूर्णता दिनुपर्छ।”
उनले करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामा सुधार आउने बताए। “करिडोर सञ्चालनमा आइदिए यहाँका स्थानीयले आठ/आठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ,” उनले भने, “यो सुदूर पहाडका जनताका लागि लाइफ लाइन नै हो।”
करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउनेछ।
“महाकाली करिडोर बने मात्रै सुदूरपश्चिमको विकासको ढोका खुल्छ,” कञ्चनपुरका होटेल व्यवसायी जगदीशचन्द्र भट्टले भने, “यसले धार्मीक पर्यटनलाई समेत फाइदा पुग्छ, अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ।”
महाकाली करिडोरअन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरासुन्दरी, मेलौली भगवती र निङ्लाशैनी जस्ता प्रसिद्ध धार्मिकस्थलहरू छन्। त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रुपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मिकस्थल रहेकाले करिडोरले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ।
“भारतको पूर्णागिरि दर्शन गरेपछि महेन्द्रनगरमा रहेको सिद्धवैजनाथ दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ,” उनले भने, “ती दर्शनार्थी करिडोर सञ्चालनमा आए डडेल्धुराको परशुरामधाम पुग्न सक्छन्।” उनले अझै पनि भारतबाट यहाँका प्रसिद्ध धामहरूमा भारतीय धार्मिक पर्यटन आउने गरेको बताउँदै यहाँ धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताए।
महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन्। हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक ‘हब’ बन्ने अपेक्षा व्यवसायीको छ।
“अहिलेसम्म भारतसँगको सहज कनेक्टिभिटि नहुँदा सुदूरपश्चिमले आर्थिक लाभ लिन सकेको छैन,” यहाँका व्यवसायी नरेश विष्टले भने, “न्यून आर्थिक गतिविधि रहेको सुदूरपश्चिममा करिडोर बनेपछि आर्थिक गतिविधि बढ्छन्।”
करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामा उल्लेख्य सुधार हुने उनले बताए। करिडोर निर्माणपछि यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्नेछ।
-महादेव अवस्थी/रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
