विस्तृत वैज्ञानिक समीक्षाले गर्भावस्थामा प्यारासिटामोल सेवन र शिशुमा अटिजम वा एडीएचडीबीच कुनै सम्बन्ध नभएको निष्कर्ष निकाल्दै अमेरिकी नेताहरूका दाबीहरूलाई खण्डन गरेको छ।
गर्भवती महिलाहरूले सेवन गर्ने सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल र उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्याबीच कुनै सम्बन्ध नरहेको अध्ययनले देखाएको छ। सोमबार प्रकाशित विद्यमान प्रमाणहरूको विस्तृत समीक्षापछि सार्वजनिक भएको रिपोर्टमा प्यारासिटामोल र शिशुमा अटिजम समस्याबीच कुनै सम्बन्ध नरहेको उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरमा एसिटामिनोफेन अर्थात् प्यारासिटामोल अटिजमको उच्च दरसँग सम्बन्धित भएको दाबी गरेका थिए। यस दाबीले चिकित्सा समुदायमा आक्रोश उत्पन्न गराएको थियो। ट्रम्पले गर्भवती महिलाहरूलाई प्यारासिटामोल खानुको सट्टा ‘कठिन परिश्रम गर्न’ आग्रह गरेका थिए। स्वास्थ्य अनुसन्धानकर्ताहरूले ट्रम्पको टिप्पणीले महिलाहरूलाई दुखाइको उपचार गर्ने सबैभन्दा सुरक्षित विकल्पबाट तर्साउन सक्ने र अटिजम समस्या भएका व्यक्तिहरू थप अपहेलित हुने जोखिम बढाउने चेतावनी दिएका थिए।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि टाइलेनोल र पानाडोलजस्ता प्यारासिटामोलयुक्त पेनकिलरले अटिजम निम्त्याउँछ भन्ने दाबीमा कुनै ठोस प्रमाण नभएको स्पष्ट पार्दै आएको छ।
यस विषयमा अहिलेसम्म गरिएका सबै वैज्ञानिक अनुसन्धानहरूको सिंहालोकन ब्रिटिस मेडिकल जर्नल (बीएमजे)मा सोमबार प्रकाशित भएको छ। बेलायतको नेतृत्वमा रहेको अनुसन्धान टोलीले समीक्षामा लेखेको छ, “विद्यमान प्रमाणले सन्तानमा गर्भावस्थामा महिलाले सेवन गर्ने प्यारासिटामोल र अटिजम वा एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी)बीच स्पष्ट सम्बन्ध देखाउँदैन।”
यसअघिका केही अध्ययनले सम्भावित सम्बन्धको सुझाव दिए पनि ती अध्ययनको निचोड ‘निकै कम विश्वसनीय’ थियो। ती विवादास्पद अघिल्ला अध्ययनले सम्भावित भ्रम सिर्जना गर्ने कारक जस्तै: परिवारमा अटिजमको इतिहासलाई गहिराइमा अध्ययन गर्न नसकेको र प्यारासिटामोलले अटिजम कसरी निम्त्याउन सक्छ भनेर तथ्य स्थापित गर्न नसकेको पनि पाइएको छ।
धेरै शोधकर्ताहरूले यस नयाँ अध्ययनको प्रशंसा गरेका छन्। युनिभर्सिटी कलेज लन्डनमा प्रसूति तथा स्त्रीरोग विषयका प्राध्यापक दिमित्रियोस सियासाकोसले यो समीक्षाले विश्वभरका विज्ञहरूले के भनिरहेका छन् भन्ने कुरालाई पुष्टि गरेको बताए।
यसैगरी, पोट्र्समाउथ विश्वविद्यालयका स्टिभन क्यापले ‘अटिस्टिक र न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूमा पुरानो दुखाइ हुने सम्भावना बढी हुन्छ र उनीहरूमा न्यूरोडाइभर्जेन्ट बच्चाहरू हुने सम्भावना पनि बढी हुन्छ तर प्यारासिटामोलले न्यूरोडाइभर्जेन्स निम्त्याउँदैन’ भने। उनले न्यूरोडाइभर्जेन्सलाई रोक्ने प्रयास गर्नुको सट्टा उनीहरूको जीवनलाई अझ राम्रो बनाउनु पर्नेमा जोड दिए।
ट्रम्प र कोभिड खोपमाथि शंका व्यक्त गर्ने रोबर्ट एफ. केनेडी जुनियरले अटिजमबारे निराधार दाबी गर्दै आएका छन्। उनीहरूका दाबीमा प्यारासिटामोलबाहेक कोभिड-१९ संक्रमण लगायतका विषयहरू समावेश छन्। यद्यपि, विशेषज्ञहरू भन्छन्, “अटिजम दरमा भर्खरको वृद्धि बढ्दो जागरूकता र व्यापक निदान विधिहरूको विकासका कारणले गर्दा भएको हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
