घट्यो पेट्रोलियम पदार्थको मूल्य (मूल्यसूचीसहित)

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो। त्यस्तै, निगमले हवाई इन्धनको मूल्य बाह्यतर्फ प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। 

खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए। उनको निर्देशनपछि आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।