राष्ट्र बैंकले उपदान कोषको ३ अर्ब ७० करोड लगानी गर्ने

बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। 

वाणिज्य बैंकमा २ अर्ब ९६ करोड, राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख, राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्न लागिएको बैंकले जनाएको छ। 

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ।

बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेलगायत सर्त पूरा गरेको हुनुपर्नेछ।

साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन राष्ट्र बैंकले सूचनामार्फत आग्रह गरेको छ।