सभामुखका लागि एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माबीच चर्को हानथाप भइरहँदा अध्यक्ष केपी शर्मा ओलीको ‘विश्वास’ जितेका विश्वकर्माले बाजी मार्ने सम्भावना देखिन्छ।
काठमाडौँ– संघीय संसद्को प्रथम अधिवेशन सोमबार शुरू हुँदैछ। सोमबार संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्ने तय भएको छ। राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बहाल रहेकाले बैठकको अध्यक्षता उनैले गर्नेछन्। प्रतिनिधिसभामा भने सभामुख चयन भइनसकेकाले ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले अध्यक्षता गर्नेछन्।
सभामुखको निर्वाचन आउँदो माघ ७ गते गर्ने तयारी छ, तर औपचारिक रूपमा मिति तोकिएको छैन। अर्थात् प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि अझै झण्डै दुई साताको समय बाँकी छ। तर, प्रमुख सत्तारुढ दल नेकपा एमालेभित्र सभामुख बन्ने प्रतिस्पर्धा उत्कर्षमा पुग्दैछ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने सहमति हुँदा सभामुखमा एमाले र माओवादीबीच आलोपालो गर्ने सहमति भएको थियो। प्रधानमन्त्री माओवादीबाट हुँदा सभामुख एमाले र प्रधानमन्त्री एमालेबाट हुँदा सभामुख माओवादीको हुने सहमति भएको नेताहरूले बताउँदै आएका छन्। त्यहीअनुसार अहिले एमालेबाटै सभामुख बन्ने हुँदा त्यो पदमा पुग्न एमाले नेताहरूबीच चर्को हानथाप देखिएको छ। एमालेमा सभामुखका आकांक्षी धेरै भए पनि मुख्य प्रतिस्पर्धा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माबीच देखिएको छ।
ओलीको ‘ग्रिन सिग्नल’ जसलाई छ
एमालेभित्र सभामुखका आकांक्षीहरू साँघुरिने क्रममा ‘फ्रन्टलाइन’मा देखापरेका उपमहासचिव गुरुङ र सचिव विश्वकर्माले आफ्नो निम्ति ‘लबिइङ’ तीव्र पारेका छन्। गुरुङ आफू मुख्यमन्त्री भइसकेको र पार्टीमा पनि सिनियर रहेकाले सभामुखका निम्ति आफू योग्य र पहिलो दाबेदार रहेको बताइरहेका छन्। विश्वकर्माले दलित समुदायबाट सभामुख बन्ने अवसर रहेको र पार्टी नेतृत्वको विश्वास पनि रहेकाले आफू सभामुख बन्नुपर्ने बताउँदै आएका छन्।
दाबेदार जो भए पनि एमालेमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन जसलाई छ, उही सभामुख बन्ने निश्चित जस्तो देखिन्छ। रोचक चाहिँ गुरुङभन्दा कनिष्ठ भए पनि विश्वकर्मा नै सभामुख बन्ने सम्भावना धेरै रहेको एमालेका एक पदाधिकारी बताउँछन्। उनी भन्छन्, “राजकीय पद होस् या संवैधानिक जिम्मेवारी, कुनै पनि पद कसलाई दिने भन्ने निर्णय अध्यक्षले मात्र गर्दै आउनुभएको छ। यसपटक उहाँले छविलालजीलाई सभामुख बनाउने सम्भावना छ।”
ती पदाधिकारीका अनुसार एमालेभित्र गुरुङभन्दा विश्वकर्मा नै नेतृत्वका विश्वासपात्र र ‘बफादार’ मानिन्छन्। उनले एमाले अध्यक्ष ओलीका सबैजसो निर्णयमा खुलेर साथ दिँदै आएका छन्।
गुरुङको अवस्था भने योभन्दा भिन्न छ। गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री हुन्। एमाले र माओवादीबीचको एकताबाट तत्कालीन नेकपा गठन हुँदा उनले पनि भूमिका खेलेका थिए। बोलीमा तुलनात्मक रूपमा खरो स्वभावका गुरुङले विभिन्न समयमा ओलीका निर्णयहरूको समर्थन मात्र गरेका छैनन्। कैयौँपटक आलोचना पनि गरेका छन्। जस्तो, तत्कालीन नेकपामा संकट पैदा हुँदा उनले ओलीका कतिपय निर्णयको विरोध नै गरेका थिए। त्यति मात्र होइन, नेकपा विभाजन हुन नदिन उनले अन्तिम समयसम्म सक्रियता देखाएका थिए।
गुरुङ गण्डकीको मुख्यमन्त्री हुँदा ओली प्रधानमन्त्री थिए। त्यसबेला गुरुङले संघले प्रदेशलाई अधिकार दिन नखोजेको भनेर ओलीको सार्वजनिक रूपमै आलोचना गरेका थिए।
गुरुङका यस्ता गतिविधिलाई लिएर ओली सन्तुष्ट नरहेको एमाले नेताहरू बताउँछन्। त्यहीकारण पनि गुरुङको साटो उनीभन्दा पार्टी बरीयतामा पछि रहेका विश्वकर्मालाई सभामुख बनाउने मनस्थितिमा ओली पुगेको एमालेका एक केन्द्रीय सदस्यले बताए। “वरिष्ठ या कनिष्ठ भनेर तुलना गर्नेभन्दा पनि अध्यक्षको जसले मन जितेको छ, उही सभामुख बन्ने हो। यसमा कसैले विरोध गर्ने स्थिति रहन्न”, ती केन्द्रीय सदस्यले भने।
अध्यक्ष ओली आफूभन्दा कनिष्ठलाई सभामुख बनाउने तयारीमा देखिएपछि गुरुङ तनावमा देखिन्छन्। उनले आइतबार साँझ उकालोसँग भने, “सभामुखमा मेरो स्वाभाविक दाबी हो। अध्यक्षपछि सुवासजी हो, सुवासजीपछि विष्णुजी हुनुहुन्छ। त्यसपछिको वरीयतामा म छु। दलित समुदायबाट प्रतिनिधित्व गर्ने भनेर मात्रै उहाँको कुरा उठेको होला।”
गुरुङले आफू सभामुख बन्न पाए राम्रो काम गरेर देखाउने बताए। तर, पार्टीले कस्तो निर्णय गर्छ भन्नेबारे आफू जानकार नभएको उनले बताए।
एमालेको वरीयतामा गुरुङपछि सचिवहरू टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, योगेश भट्टराई र त्यसपछि विश्वकर्मा छन्। तर, ओलीले विश्वकर्मालाई नै सभामुख बनाउने संकेत गरेपछि ओलीनिकट नेताहरूले विश्वकर्मा नै सभामुख बन्ने अभिव्यक्ति दिन थालेका छन्। पूर्व सभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङले एमालेबाट विश्वकर्मा सभामुख बन्ने सम्भावना रहेको बताए। “पार्टीले समयको माग के हो, संविधानको मर्म के हो त्यो पनि हेर्छ। अहिले छविलालजी सभामुख बन्ने सम्भावना छ,” नेम्वाङले भने।
ओलीले शुरूमा नेम्वाङलाई नै सभामुख बन्न प्रस्ताव गरेका थिए। तर, नेम्वाङले आफू राष्ट्रपति बन्ने भनेर रुचि देखाएकाले विश्वकर्मालाई सभामुख बनाउने तयारी ओलीको छ। “शुरूमा मलाई नै सभामुख बनिदिनु पर्यो भनेर अध्यक्षज्यूबाट प्रस्ताव आएको थियो। तर, एउटै व्यक्ति पटक–पटक एउटै पदमा दोहोरिनु राम्रो होइन। अब फेरि सभामुख बन्ने मेरो इच्छा छैन”, नेम्वाङले भने।
तर, विश्वकर्माले अहिले यो विषयमा प्रतिक्रिया नदिने बताए। उनले भने, “म अहिले यसबारे केही बोल्दिनँ।”
सोमबारदेखि शुरू हुने प्रतिनिधिसभाको पहिलो अधिवेशनमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन्। त्यसपछि सभामुखको निर्वाचन गर्ने तयारी अघि बढ्नेछ। ढिलोमा माघ ११ गतेसम्म सभामुखको निर्वाचन गरिसक्नुपर्छ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजाल भने संघीय र प्रादेशिक सरकारहरूले पूर्णता नपाएसम्म सभामुखको टुंगो लगाउने मनस्थितिमा अध्यक्ष ओली नरहेको बताउँछन्। “संघमा मन्त्रिपरिषद्लाई पूर्णता दिन र प्रदेशमा पनि आफ्नो नेतृत्वमा सरकार गठनलाई लिएर अध्यक्ष व्यस्त हुनुहुन्छ। यो सबै काम सकिएपछि मात्र सभामुखको टुंगो लगाउने तयारीमा हुनुहुन्छ,” रिजालले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
