नेप्से सामान्य बढे पनि कारोबार रकममा गिरावट

मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको छ। नेप्से सूचकमा सामान्य वृद्धि देखिए पनि यस दिन कारोबार रकम भने घटेको छ। 

सोमबारको बजारमा चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर कारोबार भएकोमा मंगलबार ३२७ कम्पनीको तीन अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएको छ। 

यस दिन सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१६ अंकले घटेको छ।

१३ उपसमूहमध्ये यस दिन सात उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंक, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार उपसमूहको सूचक सकारात्मक देखिएको हो। त्यसैगरी, विकास बैंक, वित्त, होटल, लगानी, लघुवित्त र अन्य उपसमूहको सूचक नकारात्मक भएर बन्द भएको छ।

यस दिन साइन रेसुंगा डिबेन्चर, बन्दीपुर केबलकार, माबिलुङ्ग इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेर कारोबार भएको छ। बन्दीपुर केबलकारको पहिलो कारोबार दिन प्रतिकित्ता २८.५० रुपैयाँले बढेर ३१३.५० रुपैयाँमा कारोबार भएको छ।

यस दिन नेपाल एसबीआई बैंकको डिबेन्चरको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ। यस्तै, सिटी होटलको शेयर मूल्य प्रतिकित्ता ४.९६ रुपैयाँले घटेर ५३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन साहस ऊर्जा लिमिटेड, राधी जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावरको शेयर सर्वाधिक कारोबार भएको छ।