पाकिस्तानको अदालतबाहिर विस्फोट हुँदा १२ जनाको मृत्यु, २७ घाइते

पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालतबाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले बताए।

पाकिस्तानको राजधानी इस्लामाबादमा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

गृहमन्त्री मोहसिन नकवीका अनुसार, इस्लामाबादस्थित जिल्ला अदालतबाहिर मंगलबार भएको आत्मघाती विस्फोटमा अन्य २७ जना घाइते भएका छन्। विस्फोट न्यायिक परिसरको नजिक भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको उनले बताए।

प्रहरी र उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगी उद्धारमा खटिएका थिए। उनीहरूले शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा पुर्‍याएका थिए।

घाइतेमध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने सिन्ह्वाले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, आक्रमणकारी न्यायिक परिसरमा प्रवेश गर्न चाहन्थे, तर कडा सुरक्षा घेरा पार गर्न नसकेपछि उनीहरूले परिसरबाहिर प्रहरीको गाडीमा आक्रमण गरेको खुलेको छ। विस्फोटका कारण केही गाडीहरूमा आगो लाग्नुका साथै अन्य क्षतिग्रस्त भएका छन्।

घटनास्थलबाट आत्मघाती आक्रमणकारीका शरीरका अंक संकलन गरिएको प्रहरीले जनाएको छ। फरेन्सिक टोलीले आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया थालेको छ।

जिल्ला प्रशासनले अदालत परिसर खाली गरेको छ भने सुरक्षा विभागले उक्त क्षेत्रमा खोजी अभियान शुरू गरेको उल्लेख छ। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।