‘उज्यालो नेपाल पार्टी’ले आयोगमा बुझायो अद्यावधिक विवरण

ऊर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा गठित 'उज्यालो नेपाल पार्टी'ले निर्वाचन आयोगमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ।

काठमाडौँ– ऊर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा गठित राजनीतिक दल ‘उज्यालो नेपाल पार्टी’ले निर्वाचन आयोगमा पार्टीको विधान र केन्द्रीय समितिको सूची बुझाएको छ।

पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा रहेको केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाइएको हो। पार्टीका नेता शंकर ढकालका अनुसार, केन्द्रीय कमिटीका ५१ जना सदस्यको नाम आयोगमा बुझाइएको हो।

हाल मन्त्री पदमा रहेका कारण घिसिङ पार्टीको औपचारिक जिम्मेवारीमा छैनन्। साउनमै जितराम लामाको नेतृत्वमा उज्यालो नेपाल पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो। मंगलबार थप विवरण र विधान अद्यावधिक गर्न निवेदन दिइएको हो। उक्त दलको चुनाव चिह्न 'चिम' रहेको छ।

दलको केन्द्रीय कमिटीमा डा. ताराप्रसाद जोशी, प्राडा. महेन्द्र सुन्दर लावती, शंकर ढकाल, जितराम लामा, डा. धनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. तेजनारायण यादव, श्री गुरुङ, सरस्वती सुब्बा (सारु)लगायत रहेका छन्।

आयोगले दल दर्ताको प्रमाणपत्र दिनुअघि दलका पदाधिकारी तथा केन्द्रीय समितिको सनाखत गराउनेछ। सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। उक्त निर्वाचनलाई लक्षित गरेर दल दर्ताका लागि धेरै निवेदनहरू प्राप्त भएको र तिनको अध्ययन भइरहेको आयोगले जनाएको छ।


उज्यालो नेपाल पार्टीले आयोगमा बुझाएको केन्द्रीय समितिका पदाधिकारीको विवरण

nullnull