जेनजी आन्दोलनबाट भएको क्षतिमा निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब ६८ करोड भुक्तानी

नेपाल पुनः बीमा कम्पनीले पनि निर्जीवन बीमा कम्पनीलाई जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी भुक्तानीका लागि करिब २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी उपलब्ध गराएको छ।

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म निर्जीवन बीमा कम्पनीले करिब तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार सो आन्दोलनका क्रममा परेका बीमा दाबी कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए। 

ती दाबीमध्ये अग्रिम भुक्तानीसहित सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको १९ अर्ब चार करोड नौ लाख रकममध्ये करिब दुई अर्ब ९२ करोड ८६ लाख, मोटर बीमातर्फ दुई हजार २९० वटा दाबीको करिब तीन अर्ब ४७ करोड सात लाखमध्ये ६८ करोड ६१ लाख भुक्तानी भएको कार्यकारी निर्देशक सुवेदीले बताए।

त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिब ५४ करोड ७५ लाखमध्ये ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब एक करोड ६८ लाखमध्ये ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिब ३९ करोड ३० लाखमध्ये २३ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

यसैबीच जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनः बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई करिब दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।

नेपाल पुनः बीमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुनः बीमा दाबी दर्ता भई सोको कुल रकम करिब १५ अर्ब ८२ करोड ७० लाख पुगेको छ। बीमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बीमा कम्पनी र पुनः बीमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताए।