मनसुनमा औसतभन्दा बढी वर्षा, गत वर्षभन्दा कम क्षति

मनसुनको शुरूआतमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो। सरकारले मधेश प्रदेशलाई साउन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

काठमाडौँ– मनसुनको समयमा यस वर्ष गत वर्षभन्दा जनधनको क्षति कम भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, २०८१ सालमा दुई हजार १३९ घटना भएकामा यस वर्ष एक हजार ४५४ वटा घटना भएका छन्। विपद्‌मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको निधन भएको छ।

गत वर्ष विपद्का कारण १० हजार ८२३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार ९९५ घरपरिवार प्रभावित भएका छन्। गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन्। गत वर्ष ५२२ जना घाइते भएकामा यस वर्ष ३०० जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ।

प्राधिकरणका अनुसार, यस वर्ष बाढीका २९२, पहिरोका ५१३, भारी वर्षा ३९७ र चट्याङका २५२ वटा घटना भएका थिए। बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार २०० घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए। यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु,चार जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने एक हजार ५१८ घरपरिवार प्रभावित भएका छन्।

भारी वर्षाका कारण सात जनाको मृत्यु, २० जना घाइते भए भने ९६६  घरपरिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, १८९ घाइते हुँदा ३११ घरपरिवार प्रभावित भएका छन्।

यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो। सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन १३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा एक हजार ३७५.४ मिलिमिटर वर्षा भएको छ। जुन सरदर एक हजार ४१५.५ मिलिमिटर वर्षाको तुलनामा ९७.२३ प्रतिशत हो। औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत वर्षको तुलनामा कम भएको थियो। मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो। मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो। इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो।

सरकारले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो। बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो। 

सुक्खा बन्दरगाह र तीन वटा जलविद्युत् आयोजनामा अर्बौंको क्षति भयो। कार्गोसहित ७६ वटा गाडी बगायो। मनसुनको शुरूआतमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो। सरकारले मधेश प्रदेशलाई गत साउन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रूपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म सम्बन्धित सरोकारवालासँग  समन्वय तथा निर्देशन जारी भएको थियो।