दिल्ली सधैँ त्रसित!

सोमबारको विष्फोट दिल्लीमा भएको पहिलो होइन। ‘दिल्लगीको शहर’ भनेर चिनिने भारतको राजधानी दिल्लीमा पटकपटक हमला भएका छन्, तर यसपटक १३ वर्षपछि विष्फोटको घटना भएको हो।

तस्वीर: पीटीआई

काठमाडौँ– गत सोमबार साँझ दिल्लीको लालकिल्ला नजिकै भएको कार विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ। आठ जनाको घटनास्थलमै र बाँकीको उपचारका क्रममा मृत्यु भएको हो। कम्तीमा २० जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी छ।

विस्फोटको कारण अझै पत्ता लाग्न सकेको छैन। भारतका विभिन्न सुरक्षा संयन्त्रले घटनाको निरन्तर अनुसन्धान गरिरहेका छन्। यो कुनै आतंकवादी षड्यन्त्र हो वा अरू नै केही भन्ने कुनै निष्कर्ष अहिलेसम्म आएको छैन। केन्द्रीय गृहमन्त्री अमित शाहले सबै कोणबाट अनुसन्धान भइरहेको बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

दिल्ली अग्नि नियन्त्रक सेवाका अनुसार, लालकिल्ला मेट्रो स्टेसन गेट नं.१ नजिकै सोमबार साँझ ६ः५२ बजे विष्फोट भएको थियो। विष्फोटपछिको ब्रिफिङमा गृहमन्त्री शाहले सुभाष मार्ग ट्राफिक सिग्नलमा ‘हुन्डाई आई२०’ कार विस्फोट भएको बताए। उक्त विष्फोटले वरपरका अन्य धेरै सवारी साधनमा पनि आगो लागेको थियो। 

गृहमन्त्री शाहका अनुसार, विष्फोटको १० मिनेटभित्रै दिल्ली अपराध शाखा र दिल्ली विशेष शाखाका टोली घटनास्थलमा पुगेका थिए। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)सहित, फोरेन्सिक विभागका टोलीलगायतले घटनाको अनुसन्धान गरिरहेका छन्। त्यस वरपरका सबै सीसीटीभी क्यामेराको जाँच भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनालाई षड्यन्त्र भनेका छन्। भुटानको भ्रमणमा रहेका मोदीले भने, “म यो घटनाको छानबिन गरिरहेका सबै निकायहरूसँग सम्पर्कमा थिएँ। हाम्रा निकायहरू यो षड्यन्त्रको पिँधसम्मै पुग्ने छन्।”

यद्यपि, विष्फोट दुर्घटनावश भएको हो वा जानाजानी गरिएको भन्ने विषय अनुसन्धानमै छ। यदि यो जानाजानी गरिएको विष्फोट थियो भने, निशाना को थियो? के सर्वसाधारण मात्र निशाना थिए? घटनाहरू स्थानीयरूपमा जोडिएका थिए वा राज्य वा देशबाहिरको सम्बन्ध थियो? यी सबै विषयबारे जानकारी प्राप्त हुन बाँकी छ।

सुरक्षा संयन्त्रहरू विष्फोट भएको कार र त्यससँग जोडिएका व्यक्तिको इतिहास खोतल्न लागिरहेका छन्। दिल्ली प्रहरी आयुक्त सतीश गोलचाले मिडियासँग सुस्त गतिमा चलिरहेको कार ट्राफिक लाइटमा रोकिनेबित्तिकै विष्फोट भएको बताएका छन्। कारमा पहिले नै कुनै विस्फोटक पदार्थ वा बम राखिएको थियो वा कारको इन्धन ट्यांकी वा सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास) ट्यांकी पड्किँदा यत्रो क्षति भएको हो भन्ने स्पष्ट छैन।

विस्फोटबारे मिडियामा विभिन्न अनुमानहरू गरिएका छन्। केही प्रत्यक्षदर्शीले सीएनजीको कारण विस्फोट भएको दाबी पनि गरेका छन्। यद्यपि, प्रहरीले यस घटनालाई विष्फोटक पदार्थसँगै जोडेर अनुसन्धान थालेको छ। मंगलबार बिहान दिल्लीका डीसीपी राजा बांठियाले मिडियासँग भने, “दिल्ली विस्फोटमा यूएपीए, विस्फोटक पदार्थ ऐन र भारतीय दण्डसंहिताको धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ।”

आतंकवादसँग होला ‘कनेक्सन’?
सीसीटीभी फुटेजबाट विस्फोट भएको कारमा डा. मोहम्मद उमर उर्फ उमर नबी रहेको बताइएको छ। कार उनैको नाममा दर्ता रहेको पनि बताइएको छ। यस विष्फोटका मुख्य योजनाकार उनी नै रहेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

विस्फोट हुनुभन्दा लगभग तीन घण्टाअघि उमर उक्त कारमा बसेको फुटेजले खुलासा गरेको छ। उमरले सवा ३ बजे आफ्नो कार पार्क गर्छन्। साँझ ६ः४८ बजे कार चलाएर सडकतिर आउँछन् र केही समयपछि रेडलाइटमा विष्फोट हुन्छ।

यसकारण यो विष्फोट आत्मघाती हमला हो कि भन्ने प्रश्न पनि उब्जिएको छ। उमर कश्मीर घर भएका डाक्टर थिए, जो फरीदाबादको अल–फलाह मेडिकल कलेजमा काम गर्थे।

अघिल्लो दिन मात्रै यही मेडिकल कलेजका अन्य डाक्टरलाई पनि प्रहरीले विष्फोटजन्य पदार्थ भण्डारणको आरोपमा पक्राउ गरेको थियो। दिल्लीसँगै जोडिएको हरियाणा राज्यबाट प्रहरीले करिब २९ सय किलो विष्फोटक पदार्थ अमोनियम नाइट्रेटसहित विष्फोटक पदार्थ बनाउन प्रयोग हुने अन्य रसायन बरामद गरेको थियो।

जम्मू–कश्मीर र हरियाणा प्रहरीको संयुक्त अभियानले अल फलाह अस्पताल नजिकै भाडामा लिएको घरबाट ती रसायन बरामद गरेपछि मेडिकल कलेजमा कार्यरत एक डाक्टर मुजामिल शकीललाई पक्राउ गरेको थियो। उक्त घर तिनै डाक्टरले भाडामा लिएको खुलेको द टाइम्स अफ इन्डियाले लेखेको छ।

सोही अस्पतालमा काम गर्ने एक महिला डाक्टर शाहिन शाहिदको कारमा गोलीसहित असल्ट राइफल पनि फेला परेको थियो। उनलाई पनि हिरासतमा लिइएको छ। बरामद गरिएका ती सामग्रीबाट सयौँ आईईडी (विष्फोटक उपकरण) बनाउन प्रयोग गरिएको हुनसक्ने सुरक्षा अधिकारीहरूलाई उधृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि उत्तर प्रदेशको सहारनपुरबाट श्रीनगरमा आतंकवादी संगठन जैश–ए–मोहम्मद (जेईएम) को समर्थनमा पोस्टरहरू टाँसेको आरोपमा अर्का डाक्टर अदील अहमद राथेर पक्राउ परेका थिए। उनीसँग सोधपुछको क्रममा प्राप्त महत्त्वपूर्ण सुरागको आधारमा प्रहरी २९ सय किलो विष्फोटक पदार्थसम्म पुगेको इन्डिया टुडेले लेखेको छ।

जेईएम एक पाकिस्तान आधारित सुन्नी इस्लामवादी अतिवादी संगठन हो, जसले मुख्यतः भारतप्रशासित जम्मू–कश्मीर क्षेत्रमा हमलाहरू सञ्चालन गर्छ। भारतले यसलाई आतंकवादी संगठन मान्छ।

भारतीय सञ्चारमाध्यमहरूले सुरक्षा सूत्रसँग गरेको कुराकानीअनुसार, डा. शाहिन शाहिद जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरकी बहिनी शाहिदा अजहरसँग सम्पर्कमा थिइन्। शाहिदाको निर्देशनमा उनी भारतमा जैशको लागि महिला आतंकवादी ब्रिगेड तयार गर्दै थिइन्।

दिल्लीमा पटकपटक विष्फोट
सोमबारको विष्फोट दिल्लीमा भएको पहिलो होइन। ‘दिल्लगीको शहर’ भनेर चिनिने भारतको राजधानी दिल्लीमा यस्ता विष्फोट पटकपटक भएका छन्। सन् २००५ को बम विष्फोटमा मारिएका लालचन्दका दुई सन्तान पनि झन्डै लालकिल्ला विष्फोटमा परेका थिए।

इन्डिया टुडेका अनुसार ट्राफिक जाममा कार विष्फोट हुनुभन्दा केही मिनेटअघि मात्रै निर्मित र करुणा त्यहीँबाट गुज्रेका थिए। यो शहर वर्षौंदेखि धेरै बम विस्फोट र आक्रमणको निशाना बनेको छ। यसले यहाँका मानिसमा कतिबेला के हुन्छ भन्ने त्रास छाडेको छ।

यद्यपि, विष्फोटका घटना नभएको एक दशकभन्दा बढी भइसकेको थियो। सन् २०११ सेप्टेम्बरमा दिल्ली उच्च अदालतबाहिर ब्रिफकेसमा राखिएको बम विष्फोट हुँदा १५ जनाको मृत्यु भएको थियो। पाकिस्तानस्थित सशस्त्र समूह हरकत–उल–जिहाद–अल–इस्लामीले यसको जिम्मेवारी लिएको थियो।

यस्तै, २००८ सेप्टेम्बरमा दिल्लीलाई सिरियल बम विष्फोटले हल्लाएको थियो। पहिलो विष्फोट सेप्टेम्बर १३ मा मानिसहरू किनमेल गरिरहेको बेला भीडभाडमा पाँचवटा बम विस्फोट भए। ती विस्फोटहरूमा २६ जनाको मृत्यु भयो भने, १०० भन्दा धेरै घाइते भए। इन्डियन मुजाहिद्दीन भनिने समूहले यसको जिम्मेवारी लियो।

दुई हप्तापछि थप दुई बम विस्फोट भए, जसमा तीन जनाको मृत्यु भयो। त्यस बेला तीन वटा बमलाई निष्क्रिय पारिएको थियो।

सन् २००७ मा दिल्लीबाट ९५ किलोमिटर टाढा पानीपतमा भयानक आक्रमण भएको थियो। भारत–पाकिस्तानमैत्री रेल सम्झौता एक्सप्रेसमा भएका दुईवटा बम विष्फोटमा ६८ जनाले ज्यान गुमाएका थिए, तीमध्ये धेरै पाकिस्तानी थिए। त्यस विष्फोटको आरोप पाकिस्तानस्थित लश्कर–ए–तैयबा (एलईटी)लाई लगाइएको थियो।

२००५ अक्टोबरमा दिवाली (दिपावली)को समय पारेर दिल्लीमा सिरियल बम विष्फोट भएको थियो। विभिन्न भागहरूमा भएका तीनवटा विस्फोटमा ६२ जनाको मृत्यु भयो। २०० भन्दा बढी घाइते भए। त्यस आक्रमणको जिम्मेवारी पनि एलईटीले लिएको थियो।

२००१ डिसेम्बरमा पाकिस्तानमा आधारित जैश–ए–मोहम्मद सशस्त्र समूहका लडाकुले दिल्लीस्थित संसद् भवनमै आक्रमण गरेका थिए। उक्त आक्रमणमा पाँच जना आतंकवादीसहित १४ जनाको मृत्यु भएको थियो। त्यस घटनाले आणविक हतियार सम्पन्न दुई देशलाई युद्धको नजिक पुर्‍याएको थियो।

२००० डिसेम्बरमा एलईटीका लडाकुले लालकिल्लामा गरेको बन्दुक आक्रमणमा तीन जनाको मृत्यु भएको थियो। यीबाहेक पनि दिल्लीमा कयौँ पटक विष्फोट प्रयास तथा असफल घटना भएका छन्।

(एजेन्सीहरूको सहयोगमा)