निगममा करार–ज्यालादारी कर्मचारी ६०० जना, हटाइयो ६ जनालाई

करार र ज्यालादारी कर्मचारीको संख्या उल्लेख्य रहे पनि प्राथमिकता हेरिकन सरकारको निर्देशनअनुसार प्रक्रियागत रूपमा कटौती गर्दै लगिने निगमले जनाएको छ।

काठमाडौँ– स्थायी, अस्थायी, करार र ज्यालादारी गरी करिब १ हजार ४०० कर्मचारी कार्यरत नेपाल वायुसेवा निगमलाई सरकारले करार र ज्यालादारी कर्मचारी तत्काल हटाउन गत कात्तिक १६ गते निर्देशन दिएको थियो। तर निगमले भने ६ जना कर्मचारी हटाइएको विज्ञप्ति निकालेको छ।

व्यवस्थापकीय लापरबाही र कार्यकर्ता भर्तीकेन्द्रका रूपमा परिणत भएको निगम हाल १७ अर्ब रुपैयाँको सञ्चित नोक्सानीमा छ। निगममा झन्डै ८०० स्थायी र ६०० भन्दा बढी करार तथा ज्यालादारी कर्मचारी कार्यरत छन्।

करार तथा ज्यालादारीमध्ये अधिकांश निगम महाप्रबन्धक, अध्यक्ष तथा मन्त्री, सचिवसहितले नियुक्त गरेका हुन्। पर्यटन मन्त्रीसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले निगम सञ्चालक समिति तथा व्यवस्थापकीय अधिकारीको भेलामा निगममा रहेका करार तथा ज्यालादारी कर्मचारी तत्काल हटाउन निर्देशन दिएकी थिइन्। 

कात्तिक पहिलो साता अवकाशमा गएका निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मात्रै पछिल्लो महिना तीनदेखि पाँचौँ तहसम्मका ४५ जना कर्मचारी नियुक्त गरेका थिए। निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा भने करार तथा ज्यालादारी हैसियतमा कार्यरत ६ जना कर्मचारीलाई सेवाबाट हटाइएको उल्लेख छ। 

“हाल उडान सञ्चालनमा रहेका तथा नरहेका आन्तरिक स्टेसनबाट हुने उडान संख्यालाई मध्यनजर गर्दै कर्मचारी कटौती गर्दै लैजाने नीति अनुरूप हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीको सेवा तत्काल अन्त्य गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ। 

प्रवक्ता अनिल घिमिरेले जारी गरेको विज्ञप्तिमा, निगमलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई सम्बोधन गर्दै निगमको आर्थिक दायित्व कम गर्ने उद्देश्यसहित सुधारात्मक थालनी स्वरूप व्यवस्थापनले उक्त निर्णय गरेको जनाइएको छ।

निगममा करार र ज्यालादारी कर्मचारीको संख्या उल्लेख्य रहे पनि प्राथमिकता हेरिकन प्रक्रियागत रूपमा सरकारको निर्देशनअनुसार कटौती गर्दै लगिने प्रवक्ता घिमिरेले जानकारी दिए।

निगम स्रोतअनुसार, तत्कालीन कार्यकारी अध्यक्ष अधिकारीले आफ्नो निजी प्रयोजनमा ६ तहमा सुरेन्द्र सेखाकार (खेलकुद रेफ्री), ३ तहमा नरेन्द्र रसाइली (बडीगार्ड) र ३ तहमै यक्षबहादुर दर्लामी (सहयोगी) करार सेवामा भर्ना गरेका थिए। अधिकारीले तीन वर्षअघि आफ्नो बडिगार्ड नियुक्त गरेका रसाइली यथावत् छन्।

 कुनै उडान नरहेको विराटनगर विमानस्थलमा पनि इन्चार्जका रूपमा खटाइएका सेवन्त दाहालसहितका कर्मचारी तीन वर्षयता करार हैसियतमा कार्यरत छन्। काठमाडौँ बिमानस्थलमा पनि निगमअन्तर्गत ग्राउन्ड सपोर्ट विभागमा ९ तहका करार कर्मचारी राजकुमार श्रेष्ठलाई अढाइ वर्षयता खटाइएको छ। 

विगतमा कार्यरत स्थायी कर्मचारी प्रकाश अधिकारीले कार्यकारी अध्यक्षको अव्यवस्थापनको विरोध गरे भनेर यो तहको दरबन्दी नै नरहेको भैरहवामा काज खटाइएको छ। कार्यकारी अध्यक्ष अधिकारीको यो असंगत कार्यशैलीका बारेमा महालेखा प्रतिवेदनले पनि प्रश्न उठाएको छ । 

नेपाल वायुसेवा कर्मचारी संघका अध्यक्ष नेत्र राउतले प्रधानमन्त्री कार्कीको निर्देशनअनुसार कर्मचारी कटौतीको प्रक्रिया व्यवथापनले शुरू गरेको भए पनि यसका आधार र कटौतीको प्राथमिकताबारे विस्तृतमा जानकारी नरहेको बताए। “आवश्यकताभन्दा बढी वा सरोकार नै नरहेको अवस्थामा कटौती गरिनु ठिकै हो तर, तल्लो वर्गका कर्मचारीलाई मात्रै लक्षित गर्दै कटौती गरिएमा यो प्रक्रिया स्वीकार्य हुनेछैन,” राउतले भने।

यो पनि: विवादै विवाद, उन्मुक्ति नै उन्मुक्ति

करार तथा ज्यालादारीमा विगतका पर्यटनमन्त्रीहरू प्रेम आले, सुदन किराती, हितबहादुर तामाङ, बद्री पाण्डे सहितको कोटामा तोकिएका राजनीतिक कर्मचारी निगममा यथावत् छन्। नेपाल एयरलाइन्ससँग हाल अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी र दुई न्यारोबडी विमान मात्रै सञ्चालनमा छन्। 

सरकारले दुई सताअघि निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्न पर्यटनसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरे पनि यसको निर्क्योल हुन सकेको छैन। निगममा हाल निमित्त महाप्रबन्धक तोकिएका एघाराैँ तहका जनकराज कालाखेती निगमभित्रको बेथिति र कर्मचारीको मनोमानी नियुक्तिबारे जानकार रहे पनि उनले प्रधानमन्त्री तहमा ‘ब्रिफिङ’ दिएका छैनन्। 

निगममा हरेक दुई वर्षमा सरुवा गर्नुपर्ने विभागीय प्रमुख बर्षौंदेखि उही विभागमा राख्दै तत्कालीन अध्यक्ष अधिकारीले आफ्ना पक्षमा व्यवस्थापकीय जनमत तयार गरेकोबारे पनि हालका निमित्त महाप्रबन्धक कालाखेती जानकार थिए। 

अध्यक्ष अधिकारीले आफूले गरेका गैरकानूनी कामकारबाही तथा निर्णय प्रक्रियामाथि अख्तियारमा परेका मुद्दा तामेलीमा राख्न तिनै विभागीय प्रमुख परिचालन गर्दै आएका थिए।