निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
काठमाडौँ– फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम जारी रहेको छ।
निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा आवेदन दिएका छन्। केही दलले दर्ता प्रमाणपत्र पाइसकेका छन्। केही दल विभाजन भई नयाँ दलको मान्यता पाएका छन्। केही दल एकताको प्रक्रियामा छन्।
प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरी आयोगद्वारा सञ्चालित मतदाता नामावली संकलन तथा अद्यावधिक उत्साहजनक सहभागिता भइरहेको र मंगलबारसम्म दुई लाख नौ हजार ५२२ नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
कात्तिक २५ गतेसम्ममा एक लाख २२ हजार ७४० पुरुष, ८६ हजार ७८५ महिला र अन्य २७ गरी दुई लाख नौ हजार ५२२ जना नयाँ मतदाता थपिएका हुन्। कात्तिक २५ गते मात्रै १३ हजार ६६ पुरुष, १० हजार ५६७ महिला र अन्य पाँच गरी २३ हजार ६३८ नयाँ मतदाता भएका छन्।
आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक भइरहेको छ। आयोगले गत असोज ९ गतेदेखि सञ्चालन गरेको नामावली संकलन कार्य कात्तिक ३० गतेसम्म जारी राख्नेछ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा भाग लिई विवेकको मत प्रयोग गर्ने अवसरका लागि नाम दर्ता गराउन युवा पुस्तालाई आह्वान गर्दै आएकी छन्।
नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण (बायोम्याट्रिक) दिनुपर्छ। यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिस्ट्रेसनन (पूर्वदर्ता) पनि गराउन सकिन्छ।
अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ। आयोगले हाल नामावली संकलनमा देखिएको भीड व्यवस्थापनका लागि नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा नहुने नागरिकलाई हालको नाम दर्तामा भाग नलिन आग्रह पनि गरेको छ। निर्वाचनपछि पुनः नामावली संकलन हुने भएकाले आसन्न निर्वाचनमा भाग लिन नपाउनेहरूले अहिले नामावली संकलनमा हतार नगर्न आयोगले आग्रह गरेको हो।
आयोगले नाम दर्ता स्थलहरूमा देखिएको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा ६/६ घण्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घण्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ। यसका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना कर्मचारी खटाइ सेवा प्रवाहको व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।
अन्य जिल्लाका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा जनशक्ति खटाउने गरी आयोगले नेपाल सरकार, गृह मन्त्रालयलाई पत्राचार गरेको छ। मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ। गत कात्तिक १७ गतेसम्म १८ वर्ष उमेर पूरा भई मताधिकार प्रयोग गर्न पाउनेहरूको संख्या एक करोड ८१ लाख ६८ हजार २३० थियो।
नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ। नामावली संकलनका क्रममा विगतमा भएको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबीविरोध गर्ने र नयाँ नाम थप गर्नेलगायत कार्यहरू हुँदै आएको छ।
आयोगमा हालसम्म राजनीतिक दल दर्ताको संख्या १२६ पुगेको छ। निर्वाचन घोषणापछि विभिन्न २१ नयाँ दलले निर्वाचन आयोगका दर्ताका लागि निवेदन दिएकामा अध्ययनपश्चात् स्वीकृत हुने क्रम जारी रहेको छ।
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दल दर्ताको निवेदनका लागि दलको विधान, नियमावली र घोषणापत्र दुई/दुई प्रति, झन्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनुपर्छ।
निर्वाचन प्रयोजनका लागि आयोगले सूचना प्रकाशन गरेपछि पुराना र यी नयाँ दलले निर्वाचनमा भाग लिने भएमा पुनः दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ। त्यसअघि नयाँ दलले दर्ताको निवेदन स्वीकृत गराई दर्ता प्रमाणपत्र लिइसकेको हुनुपर्छ। आयोगले गत असोज २० गते स्वीकृत गरेको निर्वाचन कार्यतालकाअनुसार यही कात्तिक २८ गते निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना प्रकाशन गर्नेछ।
सोका लागि आयोगले आगामी मंसिर १ गतेदेखि १० गतेसम्म १० दिनको समय दिनेछ। यसरी दर्ता गर्ने दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका दल दर्ताका लागि निवेदन दिन पाउनेछन्।
यसैबीच निर्वाचनको समग्र तयारी, आयोग र सरकारको समन्वयका विषयमा आज प्रधानमन्त्री कार्की र आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुँदै छ।
सरकारले विदेशमा रहेका मतदातालाई कसरी मतदानको अधिकार दिलाउन सकिन्छ र त्यसका लागि कस्तो कानुनी र प्राविधिक सम्भावनाका विषयमा आयोगसँग परामर्श गर्दै आएको छ। निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबीच यसअघि गत असोज ७ गते छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
