म मूर्तिकला नै पढेको व्यावसायिक कलाकार हुँ, कला चेतना हुँदाहुँदै पनि मेरो काममा खोट आयो। यस्ता विषयमा पालिकाहरूले बजेट र समय प्रशस्त दिनुपर्ने हुन्छ।
अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका मूर्तिका तस्वीरमध्ये एउटा मेरो सिर्जना पनि हो। त्यसकारण, यी मूर्तिहरूबारे मैले बोल्नुपर्छ।
मैले ११ वर्षको उमेरदेखि मूर्तिकला बनाउन थालेको थिएँ। निरन्तर अभ्यास गरेको २८ वर्ष भयो। मूर्तिकलामै त्रिविको ललितकला विभागबाट स्नातकोत्तर गरेँ। यसै क्षेत्रको अध्ययन अनुसन्धानमा लागिरहेको कारण केही समययता भाइरल भइरहेका मूर्तिका तस्वीरहरूबारे मेरो पनि ध्यान गएको छ।
भाइरल भएको बुद्धको एउटा मूर्ति पाँचथरको रविस्थित जडिबुटे डाँडामा बनिरहेको छ। ३८ फिट अग्लो यो मूर्ति मेरो नेतृत्वमा बनिरहेको छ। केही समयअघि यो मूर्तिको तस्वीर सार्वजनिक भएपछि धेरैले रुचाएनन्। अहिले थोरै परिष्कृत गरेर पुनर्निर्माण हुँदैछ। समय, वातावरण र आर्थिक पक्षले साथ दिए १५–२० दिनभित्र निर्माण सक्ने योजना छ।
यसरी शुरू भयो मूर्ति निर्माण
२०७६ सालमा जडिबुटे डाँडामा बुद्धको मूर्ति निर्माण गर्ने मिक्लाजुङ गाउँपालिकाको योजनाबारे त्यहाँकै कर्मचारीबाट थाहा पाएको थिएँ। शुरूमा मलाई रहर लागेन। काम पनि खासै भइरहेको थिएन। त्यसैले, बोलपत्र दर्ता गर्ने अन्तिम दिन मैले पनि आवेदन दिएँ।
३ करोड ५० लाख रुपैयाँको टेन्डर थियो। मैले २ करोड ७० लाखमा बिड गरेँ। त्यो सबैभन्दा कम कबोल थियो, योजना मेरो हातमा आयो। आफूलाई पाँच–सात लाख रुपैयाँ फाइदा हुने र ठूलो मूर्ति आफ्नो नामको कलाकृतिमा जोड्न पाइने लोभले त्यतिमा बिड हालेको थिएँ।
मैले २०७६ असार मसान्तमा सम्झौता गरेँ। टेन्डर प्रक्रियाबाट गरेको यो मेरो पहिलो काम थियो। टेन्डरमा काम गर्दा धरौटी पनि राख्नु पर्छ भन्ने थाहा थियो, तर यसका प्रक्रिया निकै सकसपूर्ण हुन्छ भन्ने थाहा थिएन। बैंक ग्यारेन्टीका लागि ५० लाख र १५ लाख २५ हजारका गरी दुई धरौटी खाता थिए। लगभग ६५ लाख २५ हजार चाहिने भयो। गाउँपालिकालाई भन्दा ‘यो तपाईंको समस्या हो, आफैँ गर्नू’ भन्ने जवाफ पाएँ। मैले बैंकलाई धितोको लागि पाँच लाख क्यास र बाँकी आफ्नो दिदीको जग्गा धरौटी दिएँ।
यसअघि काम गर्दा अनुमानित रकम लिँदै बनाउँदै अन्तिममा फर्छ्यौट गर्ने गरेको थिएँ। टेन्डर प्रक्रियामा त म शुरूमै गलिसकेको थिएँ। तर,त्यस बेला मलाई कामको अभाव थियो। पारिवारिक खर्चले पनि सताएको थियो। त्यत्रो रकम खर्च गरेर पढेको, लगानी उठाउनु थियो। त्यसैले काम गर्न राजी भएको थिएँ।
फिल्डमा खटियौँ
मिल्काजुङ गाउँपालिकाको केन्द्र पुग्न पाँचथरको रवि बजारबाट सात किलोमिटर उकालो जानुपर्छ। समुद्री सतहबाट लगभग चार हजार फिटमा पर्छ।हिउँदमा भने त्यहाँ गाडी पुग्छ। यहाँ मंसिरदेखि जेठसम्म ६ महिनामात्र राम्ररी काम गर्न सकिने रहेछ।
मैले २०७६ असोज मसान्तमा पहिलो पेस्की ५० लाख रुपैयाँ पाएँ। आवश्यक सामग्री र बसोबासको व्यवस्थासहित मंसिरबाट काम शुरू भयो। १४ जना कामदार लगेको थिएँ। बीचमा कसैले छाड्ने र फेरि नयाँ आउने क्रम चलिरह्यो।
गाउँपालिकाले ‘ट्रेडिशन’ बुद्ध नभई ‘रियालिस्टिक’ बनाउने बतायो। काम शुरू गरेको चार महिना नबित्दै चैतबाट कोरोना महामारीका कारण काम रोकियो। कोरोनापछि जनजीवन सामान्य अवस्थामा फर्किन थाले पनि परिस्थिति असामान्य भइसकेको थियो। कोरोनाअघि जुन मूल्यमा सामानको भाउ मैले मोलतोल गरेको थिएँ, त्यो बढिसकेको थियो। सोही कारण पालिकालाई बजेटमा परिमार्जन गरिदिन अनुरोध गरेँ। तर स्वीकार गरेनन्।
यसैबीच, मलाई गुरु फाल्गुनन्दको १५ फिटको अर्को मूर्ति बनाउन भनियो। मैले टेन्डरमा काम नगर्ने, आपसी समझदारीमा मात्र गर्ने बताए। अनि पालिका र मेरो सम्बन्ध चिसियो।
२०७८ फागुन १० गते गाउँपालिका अध्यक्षसहितको टोली अनुगमनको लागि आयो। हामीले बुद्धको टाउको जमिनमा बनाए र त्यहीँ राखेका थियौँ। त्यस बेलासम्म काममा केही गुनासो थिएन। उनीहरूले भिडियो, फोटो सबै खिचे। त्यसपछि, हामीले स्काफोल्डिङको काम सकायौँ। यो भनेको पातालाई कस्ने काम हो। यसरी पातालाई कसेपछि मूर्तिमा पित्तल थपिन्छ। डाँडामा बिजुली नभएकाले हामीले ग्यास वेल्डिङ गर्नु परेको थियो।
पालिकाबाट रकम नआउँदा मैले ऋणपान गरिरहेको थिए। आफैँले खाना र पानी व्यवस्था गर्नु परेको थियो। सोही क्रममा पानीको ग्यालिन उठाउँदा बाटोमै लडेँ। कम्मरमा समस्या भयो। उपचारको लागि काठमाडौँ आउनै पर्यो। अन्नपूर्ण न्युरोले मलाई अप्रेसन गर्न भन्यो।साइटमा१२–१५ जना कामदारको गाइड गर्नुपर्ने हुँदा थेरापी र पेनकिलरको सहारामा फर्किएँ। म फर्किँदा मूर्तिमा टाउको गाँसिसकिएको थियो।
२०७९ असार २० गतेसम्म पनि कुनै गुनासो आएन। रकम अभाव भएको हुँदा मैले ‘कि बैंक ग्यारेन्टी फुकाइदिनू पाँच लाखले काम गर्दै गर्छु, या मेरो धरौटी काटेर पैसा दिनू’ भनेँ। तर, पालिकाले स्वीकार गरेन।‘मेरो ५० लाख डिपोजिट तपाईंहरूसँग छ, त्यसमा २५ लाख ऋण दिनू। पछि, ब्याजसहित हिसाब गर्नू’ भन्दा उनीहरूले ‘त्यो तपाईंको कुरा हो, हामी जान्दैनौँ’ भने।
असार २२–२३ गतेपछि मौसमले साथ दिएन। हामीले मौसम नसुध्रिएसम्म काम रोक्ने विचार गरेका थियौँ। सुख्खा मौसम लागेपछि मात्र आउने भनेर मैले अध्यक्षलाई फोन गर्न खोजेको थिएँ, तर लागेन। त्यसपछि सचिव, लेखापाललाई जानकारी गराएँ। अध्यक्षले थाहा पाएपछि आफैँले फोन गर्नुभयो। आधा बाटो पुग्दा उहाँसँग भेट भयो। अनुगमनमा जानु भएको रहेछ, हामीलाई पर्खिन भन्नुभयो।
फर्केर आएपछि ४ लाख ९८ हजार रुपैयाँ दिनुभयो। बैंकको ऋण पनि फुकाइदिनु भयो। ऋणको लागि बैंकलाई कुरा गर्दा काठमाडौँ नै आउन थापाथलीस्थित ग्लोबल आईएमई बैंकबाट खबर आयो।
म काठमाडौँ आएको दुई दिनबीचमै पालिकाका केही इन्जिनियर र कर्मचारी आएर मूर्तिको फोटो खिचेर गएछन्। त्यसपछि फोटो भाइरल भयो। यसरी भाइरल बनाउने काम पालिकाबाटै भएको हो।
फोटो लिँदा पनि निश्चित दूरी र लाइटमा खिचिन्छ, एंगल मिलाएर नखिच्दा राम्रो नआएको पनि हो। मूर्ति स्थापनाकै लागि अगाडि कति पनि ठाउँ छैन, बेस कसरी कहाँ राख्ने, वाल कसरी हाल्ने, बार कसरी राख्ने, मूर्ति कसरी राख्ने पालिकालाई आइडिया छैन। मैले शुरू मै ड्रोन लगेर सर्भे गरेर खिचौँ भनेकै हो, उहाँहरूले मान्नु भएन।मेरो कमजोरी के भने– मूर्ति के कस्तो बनाउने योजना उहाँहरूसँगै होला भनेर बसेँ। मैले पनि राम्ररी बुझ्नु पर्थ्यो।
किन निर्माण हुन्छन् कुरूप मूर्ति?
भाइरल भइरहेका मूर्तिहरूमा सौन्दर्य र अभिव्यक्ति नभएको तथा कलाविहीन भएको भनेर आलोचना भइरहेको छ। अरूको हकमा के भयो मलाई थाहा छैन, मेरो हकमा केही कमजोरी अवश्य भए।
तर, यसबाहेक सम्बन्धित निकाय तथा व्यवहारिक पक्षमा आएका समस्याले पनि मूर्तिको सौन्दर्यमा केही ह्रास आएको हो। पालिकाहरू सस्तो टेन्डर खोज्छन्। जो दक्ष छैनन्, त्यस्ता ठेकदारबाट काम गराउँछन्। प्लास्टर गर्ने मिस्त्रीलाई मूर्तिको ‘एनोटोमी’ र ‘प्रप्रोसन’बारे थाहा हुँदैन। त्यसबाहेक, प्रयोग हुने रङ पनि ५००देखि पाँच हजार रुपैयाँसम्म पर्छ। कुन प्रयोग गर्ने भन्नेले गुणस्तर निर्धारण गर्छ।
म पढेको र व्यावसायिक कलाकार हुँ। कला चेतना हुँदाहुँदै पनि मेरो काममा खोट आयो। यस्ता विषयमा पालिकाहरूले बजेट र समय प्रशस्त दिनुपर्ने हुन्छ। बजेट दिन्छु भन्ने, तर बीचमा अड्काइ दिने हुँदा हाम्रो काममा समस्या आएको हो।
मैले काम शुरू गर्नु अघि नै तीन वर्षको समय माग गरेको थिएँ, तर उहाँहरूले एक वर्षको समय दिनुभयो। बीचमा कोरोनाले पनि प्रभाव पार्यो। यसबाहेक, निर्माण हुने स्थानमा आउने व्यावहारिक समस्या अर्को कारक पक्ष हो।
यस्ता व्यावहारिक समस्या थिए
हामीले काम गरेको जडिबुटे डाँडा जंगलैजंगलको बीचमा छ। हामी कुटी बनाएर बसेका छौँ। यहाँ पानी, हावाले डिस्टर्ब गर्छ।चिसो मौसम भएकाले बिहान सेताम्मे तुसारो पर्छ। पानी जम्छ। बाक्लो हुस्सु लाग्छ। अनकन्टार ठाउँमा बस्न एक–दुई दिन रमाइलो होला, तर वर्षैभरिका लागि आउँदा ‘मोनोटोनस’ हुन्छ।
यो ठाउँमा जोडले हावा चल्ने, बिजुली भनेको समयमा नहुने, चिसोले गर्दा जेनरेटर बिग्रिने जस्ता समस्या छन्। हालसालै मात्र सोलार सिस्टमबाट पानी तान्न थालेका छौँ।तर, त्यसमा पनि समस्या छ।
काम गर्ने कामदारलाई समय–समयमा पैसा दिनु पर्ने हुन्छ। कामदार, कालिगडहरूलाई २–३ महिना जोडजाड गरेर मैले ६ महिनासम्म होल्ड गरेँ।
गाउँपालिकाबाट बीचमा बजेट रोकिँदा कतिपय अनुभवी कामदारले छाडेर गए। नयाँ र कम अनुभव भएका कामदारलाई सिकाउनु पर्ने हुन्छ। यसरी काममा अभ्यस्त भइसकेका हात फेरिइरहँदा त्यसको प्रत्यक्ष असर मूर्तिमा देखिएको मैले अनुभव गरेँ।
अहिले गाउँपालिकाले नै बुद्धको फोटो दिइएको छ। सोहीअनुसार काम गर्दैछौँ। अहिले भने सिद्धार्थ गौतम बुद्धको सामान्य तस्वीर दिइएको हो। तर मूर्तिको अनुहारको आकार एक चरणमा बनिसकेको र भुइँबाट ३८ फिटमाथि हुँदा सोचेजस्तो परिमार्जन नहुने अनुमान छ। यद्यपि, हामी हाम्रो पक्षबाट सक्दो प्रयास गर्नेछौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
