वर्षभरि जात्रा र बाजाले गुञ्जायमान हुने ललितपुर महानगरलाई युनेस्कोले ‘युनेस्को रचनात्मक सांगीतिक शहर’का रूपमा पहिचान गरेको छ। युनेस्को रचनात्मक सांगीतिक शहर के हो र महानगरको योजना कस्तो छ?
काठमाडौँ– गत बिहीबार सम्पन्न कात्तिक नाचको वाद्यवादन टोलीका सदस्य हुन्, शिवेश शर्मा (२४ वर्ष)। पाटन दरबार स्क्वायरस्थित मंगलबजारका स्थानीय शर्मा त्यस सेरोफेरोमा सञ्चालन हुने अधिकांश परम्परागत नाच र वाद्यवादनका क्रियाकलापमा आबद्ध हुन्छन्।
महिना दिन लामो रातो मत्स्येन्द्रनाथको जात्रामा हुने स्तुति, भजन, गान होस् वा वर्षको एकपटक ज्याः पून्हिको दिन गाइने श्रीनिवास मल्लको मेघ मल्हार, उनी बुढापाखासँगै बसेर स्तुति गाउँछन्। शर्मा पाटनको मानमनेश्वरी मन्दिरका कुल पुजारी खलकका हुन्। यसकारण पनि पाटनका विभिन्न कला-संस्कृतिमा भिजेका छन्।
९ वर्षको उमेर, २०७४ सालदेखि बाजागाजा सिक्न थालेका उनी दुई वर्षपछि, २०७६ सालबाट औपचारिक रूपमा कात्तिक नाचको बाजा खलः (समूह)मा वाद्यवादन बजाउन थाले। ३८५ वर्ष पुरानो कात्तिक नाच मात्र नभई मत्या (गाईजात्राको दोस्रो दिन पाटनमा हुने जात्रा)मा नौबाजा उनी बजाउँछन्।
नौ बाजामा धिमे, खिं, न्या खिं, धाँ, कोचा खिं (तबला जस्तै तल बाटा प्वाल), ढोलक, मृदंग, खंजरी, मग खिं (मादल), दं बाजा, नगरा, काटा ध्वँ लगायतका परम्परागत बाजा हुने उनले बताए। नजिकै रहेको कृष्ण मन्दिरमा हुने भजनमा पनि उनी हर्मोनियम र तबला बजाउँछन्। शिवेश वाद्यवादनमा रमाउने जेन–जी पुस्ताका पाटनका प्रतिनिधि पात्र मात्र हुन्। शिवेशजस्ता युवामा परम्परागत बाजाका ताल पुस्तान्तरण गर्नु नै यहाँका बाजे-बाबुहरूको दैनिकी बनेको छ।

यद्यपि, ललितपुर महानगरको सांगीतिक झलक यतिमै मात्र सीमित छैन। गत मंसिरमा भारतीय सितार वादक ऋषभ राजशंकर शर्माले पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिरअघि एकल प्रस्तुति दिए। त्यस्तै, बिहानसाँझ विशेषतः गणेश मन्दिरमा गाइने भजन/गायन (दाफा) नेवारबस्तीमा नौलो विषय होइन। यस्ता दाफा भजनले यी स्थानलाई गुञ्जायमान बनाउने गर्छन्।
यस्तै, सांस्कृतिक महत्त्वका कारण, कात्तिक १५ गते संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले ललितपुरलाई संगीतको रचनात्मक शहर घोषणा गरेको छ। यसअघि काठमाडौँलाई युनेस्कोले फिल्मको रचनात्मक शहरका रूपमा पहिचान दिएको थियो। यससँगै नेपालका दुई शहर युनेस्कोको रचनात्मक शहर सञ्जालमा जोडिएका छन्।
कसरी बन्यो संगीतको शहर?
ललितपुरमा वर्षभरि नै बाजा बज्ने शिवेश शर्मा बताउँछन्। तिथिअनुसार चैत/वैशाखमा दुई माजु जात्रा शुरू हुन्छ। पाटनको बिस्केट जात्रा पनि भनिने यस जात्रामा धिमे, धाँ लगायतका बाजा बज्छन्। जेठमा रातो मत्स्येन्द्रनाथ (बुँग द्यः)को जात्रा हुन्छ। शर्माका अनुसार, यस जात्रामा काठमाडौँ र भक्तपुरदेखि विभिन्न बाजा खलः (समूह) मत्स्येन्द्रनाथको आराधनामा बाजागाजासहित पाटन आइपुग्छन्।
त्यसपछि आउने गथा मुगः मा लाखे निस्कन्छ। लाखे बाजाको तालमा नाच्छ। अर्थात्, यहाँ पनि बाजाको प्रयोग हुन्छ। त्यस्तै, साउन/भदौताका गुँला पर्व हुन्छ। गुँला पर्व आफैँमा बाजाको पर्व हो। यस समय विभिन्न विहार, चिभा (चैत्य)मा नौ बाजासहित खलः बाजा बजाउँदै हिँड्छन्। यस्ता खलः स्वयम्भूसम्म पनि पुग्छन्।
त्यस्तै, भीमसेन जात्रा, कायस्थ पूजा हुन्छ। त्यो बेला दशमहाविद्याको आराधना हुन्छ, जतिबेला दशैँसम्म साँझमा बाजा बजाउनुपर्छ।

“इन्द्रजात्राको समयमा बाजा बजाएर घुम्नुपर्छ। कात्तिक नाच त झन् बाजाबिना सम्भव नै हुन्न,” उनी भन्छन्, “फेरि मंसिरमा योमरी पून्हिमा महर्जनले बाजा बजाउने गर्छन्। वैष्णवी जात्रा पनि हुन्छ। पुस-माघमा बालकुमारी जात्रा, सरस्वती पूजा हुन्छ, यी पनि बाजाबिना पूर्ण हुँदैन।”
होली (फागु पूर्णिमा)को समयमा चीर उभ्याएर मेला, भजन हुन्छ। पाहाँ चः ह्रेमा चामुण्डाको पनि बाजा बजाइन्छ भने रामनवमीमा महालक्ष्मीको जात्रासँगै ढोलक, धिमे बजाएर जात्रा हुन्छ। “वर्षभरि हुने जात्रा र पर्वमा बाजागाजाको निरन्तरताका कारण नै युनेस्कोले संगीतको रचनात्मक शहरको रूपमा पहिचान गरेको हुनुपर्छ,” उनको अनुमान छ।
यता, ललितपुर महानगरका सम्पदा तथा पर्यटकका सल्लाहकार दिलेन्द्र श्रेष्ठ दोस्रोपटकको प्रयासमा मात्र रचनात्मक सांगीतिक शहरको सूचीमा परेको बताउँछन्।
महानगरतर्फबाट मनोनयन दर्ता प्रक्रियाको सम्पूर्ण जिम्मा श्रेष्ठको थियो। उनका अनुसार, पहिलोपटक सन् २०२३ मा ललितपुर महानगरले मनोनयनका लागि आवेदन दिएको थियो।
“पहिलो प्रयासमा संगीत विधामा ५५ वटा शहरहरूले आवेदन दिएका थिए,” श्रेष्ठ भन्छन्, “त्यसमा कार्ययोजना र बजेटसहितको चार वर्षको कमिट्मेन्ट (प्रतिबद्धता) चाहिने रहेछ। जुन हाम्रो कमजोरी बन्यो।”
युनेस्कोले सन् २००४ देखि विभिन्न देशका शहरहरूलाई सात विधामा त्यस स्थानको विशेषतासहित रचनात्मक शहरको पहिचान दिने गरेको छ। ती विधामा शिल्प र लोककला, पाककला (खानपिन), चलचित्र, संगीत लगायतका समावेश छन्।
ललितपुरलाई संगीत विधामै मनोनयनका लागि जोड दिनुको कारणलाई दिलेन्द्र लिच्छविकालीन सांगीतिक पृष्ठभूमिसँग जोड्छन्। “लेलेस्थित सरस्वती कुण्डमा रहेको लिच्छविकाल शिलालेखमा 'वादित्र गोष्ठी' भनेर उल्लेख गरिएको छ,” उनी भन्छन्, “यो बाजासम्बन्धी गुठी हो। यसको अर्थ सो समयदेखि नै संगीतलाई संस्थागत रूपमा चलाउँदै आएको रहेछ।”
यद्यपि, २१औँ शताब्दीमा संगीतलाई परम्परा र सांस्कृतिक कोणबाट मात्र हेर्न नहुने उनी बताउँछन्। बरु, अब यस्ता खलःलाई जीविकोपार्जनको माध्यम बनाउने योजनालाई प्राथमिकतासाथ अघि बढाइने उनको भनाइ छ। जसका लागि महानगरले कार्ययोजना बनाइसकेको पनि उनले बताए। “हामी अहिले कार्यविधि बनाउने क्रममा छौँ, कार्यपालिकाबाट कार्यविधि पारित भइसकेपछि तर्जुमा गरिएको योजनालाई मूर्त रूप दिनेछौँ,” श्रेष्ठ भन्छन्।
परम्परागत मात्र नभई आधुनिक समयमा सांगीतिक क्षेत्रको समेत समग्र उत्थान र यसमा प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका सबैलाई ध्यानमा राखिने उनले बताए।
सांगीतिक रचनात्मक शहरका रूपमा पहिचान भएलगत्तै ललितपुरले ‘सेन्टर फर क्रियटिभ आर्टस्’ बनाउने घोषणा गरेको छ। यस्ता सेन्टरमा ३६५ दिन नै परम्परागत तथा अत्याधुनिक दुवै बाजा सिक्न र सिकाउन सकिने तथा अभिलेखीकरणको काम हुने श्रेष्ठले बताए।
“युनेस्कोबाट घोषणा हुँदैमा त्यहाँबाट बजेट आउने होइन। सबै काममा महानगरले आफ्नो बजेट गर्छ। फरक यति हो कि कहिँ कतैबाट बाँधिएपछि काममा बढी कसरत हुन्छ। आगामी चार वर्ष हामी चुस्त-दुरुस्त रूपमा काम गर्ने छौँ,” श्रेष्ठ भन्छन्।
सरोकारवालाका प्रश्न: समावेशितादेखि आर्थिक भारसम्म
इथ्नोम्युजिकोलोजी अध्येता पुष्पा पलाँचोके युनेस्कोको यो पहिचान सकारात्मक पाटो भएको बताउँछिन्। यद्यपि, यस्ता पहिचानबाट प्रत्यक्ष आर्थिक सहयोग भने नहुने उनले प्रस्ट पारिन्। सांगीतिक शहरको घोषणाले सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा भने बल पुग्ने विषयमा सकारात्मक रहेको उनले बताइन्।
विभिन्न उपनामले शहर घोषणा गर्दा मात्र मूर्त परिवर्तन नहुने उनको तर्क छ। त्यसैले सांगीतिक क्षेत्रको हरेक पाटो, संस्था र व्यक्तिलाई समेट्नुपर्ने उनी बताउँछन्। उनले महिला सहभागितामा विशेष जोड दिइन्। “परम्परागत वाद्यवादनदेखि नृत्यमा महिलाको उपस्थिति गौण नै छ। यसमा परिमार्जन आवश्यक छ,” पलाँचोके भन्छिन्, “सांगीतिक र सांस्कृतिक हिसाबले महिलालाई पहुँच, प्रोत्साहन गर्न, समतामूलक सहभागिता महानगरले छुट्याउनै नहुने सबैभन्दा महत्त्वपूर्ण पक्ष हो।”
पलाँचोकेका अनुसार, नेवाः समुदायका कला-संस्कृतिलाई बाह्य रूपमा राम्रो वा मनोरम दृष्टिले मात्र हेर्दा, ती कला-संस्कृति धान्न समुदायले बेहोरिरहेको दैनिक कठिनाइको चर्चा र असमानताको बहस नहुनु दुखद पक्ष हो। रचनात्मक शहर घोषणासँगै सम्बन्धित निकायले यी विषयहरूमा ध्यान दिनुपर्ने उनी बताउँछिन्।

“कति बाजा खलः छन्, उनीहरूको स्वास्थ्य बीमा मात्रै हुन सके पनि अहिलेको लागि ठूलो उपलब्धि हुन जान्छ,” पलाँचोके भन्छिन्, “पुराना पुस्ता केही हताश छन्। कारण, बाजा पुस्तान्तरण त भयो तर जीवनभर कार्यरत रहँदा उनीहरूले दिएको देनको मूल्यांकन अनि प्राप्ति पनि त हुनुपर्छ।”
त्यस्तै, अबको लागि गुठी बाजा खलःले सांस्कृतिक पुस्तान्तरण मात्र नभई कसरी नयाँ बहस, विचारको विमर्शको स्थानको रूपमा विकसित हुनु पर्ने धारणा राख्छिन्।
कतिपय पुरातनवादी नीति-नियममा समयअनुसार परिमार्जन हुनुपर्ने तर्क पलाँचोकेको छ। पलाँचोकेको तर्कमा शिवेश शर्मा पनि सहमत छन्। “कतिपय अवस्थामा निश्चित समुदायका व्यक्तिले वा पुरुषले मात्र नाच्न, बाजा बजाउन पाउने व्यवस्था छ,” शर्मा भन्छन्, “गुठीको आफ्नै नियम हुन्छ, त्यहाँ हामीले दबाब दिन मिल्दैन तर अन्य सांस्कृतिक झाँकी, नाचमा समानता गर्नु पर्छ। नीति-नियम खुकुला पार्न पर्छ।”
यसबाहेक, समुदायले बेहोरिरहेको आर्थिक भारको विषयमा पनि उनले जोड दिए। “पर्वकालको पूजा गर्न निकै गाह्रो छ, अहिलेसम्म सबैले श्रद्धाले गरिरहेका छन्, आफैले मिलाइरहेका छन् तर यो ठूलो समस्या हो,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
