मैत्रीपूर्ण खेलमा नेपाल र बांग्लादेशबीच बराबरी

नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ।

काठमाडाैँ– नेपाल र बांग्लादेशबीच बिहीबार साँझ भएको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ। पहिलो हाफमा नेपालले अग्रता बनाए पनि जित हात पार्नबाट चुक्यो।

बांग्लादेशको ढाकामा भएको खेलको २९औं मिनेटमा नेपालले पहिलो गोल गर्‍यो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहित चन्दले हानेको प्रहार गोलमा परिणत भयो। नेपालले पहिलो हाफमा १-० को अग्रता लिए पनि दोस्रो हाफमा बांग्लादेशले खेल आफ्नो नियन्त्रणमा लियो।

दोस्रो हाफ शुरू भएको ५ मिनेटभित्र बांग्लादेशले दुई गोल गर्दै नेपाललाई स्तब्ध बनायो। इङ्लिस च्याम्पियनसिप खेल्ने हम्जाले ४६औँ मिनेटमा सानदार गोल गरे।

यस्तै, ४८औँ मिनेटमा नेपालका डिफेन्डर सुमन श्रेष्ठले राकिब होसेबलाई बक्सभित्र लडाएपछि रेफ्रीले बांग्लादेशलाई पेनाल्टीको दिए। ५० औँ मिनेटमा हम्जाले पेनाल्टीमा गोल गरेसँगै बांग्लादेशले २-१ को अग्रता बनायो।

तर, इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो। दिनेश हेन्जनको कर्नरमा डिफेन्डर अनन्त तामाङले हानेको ब्याक हिल गोलमा परिणत भयो र नेपालले बांग्लादेशलाई २-२ को बराबरीमा रोक्यो।

नेपालले बांग्लादेशसँग गत भदौमा खेलेको मैत्रिपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो खेल भने जेन-जी प्रदर्शनको कारण हुन सकेको थिएन।

नेपालले लगातार सातौँ खेलमा पनि जित निकाल्न सकेन। सिंगापुरलाई १-० ले हराएपछि नेपालको यो तेस्रो बराबरी नतिजा हो भने ४ खेलमा हारेको छ।