फोटो काठमाडौँको छैटौँ संस्करण आजदेखि शुरू

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक महिनासम्म चल्ने यो महोत्सवमा १८ वटा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला लगायत कार्यक्रम रहनेछन्।

काठमाडाैँ– नेपालको अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव 'फोटो काठमाडौँ'को छैटौँ संस्करण आजदेखि काठमाडौँमा शुरू भएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक महिनासम्म (कात्तिक २८ – मंसिर २८) चल्ने यो महोत्सवमा १८ वटा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला, कलाकारसँग वार्ता, प्यानल छलफल, पोर्टफोलियो समीक्षा र चलचित्र प्रदर्शनी रहनेछन्।

काठमाडौँको नेपाल कला परिषद् यस महोत्सवको मुख्य स्थलको रूपमा महिनाभरका लागि रहनेछ। महोत्सवले पाटनको मङ्गाहिति र च्यासल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, नक्सालको नन्दीकेशर बगैँचा र थिमि (मध्यपुर)को निगू पुखुमा पनि यात्रा गर्नेछ।

यस वर्षको संस्करणले 'ग्लोबल साउथ' ऐक्यबद्धताको 'क्युरेटोरियल' विषयवस्तुसम्बन्धी गतिशील कायक्रम प्रस्तुत गर्ने आयोजक फोटो केटीएमले जनाएको छ।

"यस वर्षको भेलाले तेस्रो विश्वका कलाकारहरू र सांस्कृतिक समुदायहरूबीच सांस्कृतिक समझदारीलाई गहिरो बनाउनेछ, हाम्रो इतिहास, कथा, संघर्ष र आशाहरू साटासाट गर्दै पारस्परिक अन्तर्राष्ट्रिय एकतालाई बलियो बनाउनेछ र भौगोलिक सीमा पार गर्दै दक्षिण-दक्षिणबीचको अधिक सहकार्य र आदानप्रदानको बाटो पनि खोल्नेछ भन्नेमा हामी आशावादी छौँ," – महोत्सव निर्देशक नयनतारा गुरुङ कक्षपतिले भनिन्।

यस महोत्सवका सबै प्रदर्शनी, प्रोजेक्शन, वार्ता र गतिविधि सर्वसाधारणका लाग नि:शुल्क तथा खुला रहेका छन्। महोत्सव कार्यक्रमबारे यहाँ क्लिक गरेर विस्तृतमा बुझ्न सकिन्छ।