चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी

डा. गुरुङका अनुसार, रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिन्छ। यसैले शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने र अन्य शल्यक्रियाको तुलनामा बिरामी छिटो निको हुने उनले बताए।

चितवन– चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा शुरू गरेको छ। मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सीएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा शुरू गरेको हो।

रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङ, जीआई सर्जनहरू डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी शुरू गरिएको छ। हालसम्म १४ वटा रोबोटिक सर्जरी सम्पन्न गरिएको अस्पतालले जनाएको छ।

रोबोटिक तथा युरो सर्जन डा. गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दूरबिन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ। “रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो,” उनी भन्छन्। रोबोटले नै सबै शल्यक्रिया गर्ने नभई सर्जनले योजना बनाएर रोबोटको सहायता लिएर शल्यक्रिया गरिने उनको भनाइ छ।

चिकित्सकले प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रित रोबोटिक हातहरूका माध्यमबाट शल्यक्रिया हुने उनले स्पष्ट पारे। परम्परागत प्रविधिको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रूपमा संवेदनशील र जटिल उपचार गर्न सकिने डा. गुरुङले बताए।

न्यूनतम पीडा, कम रक्तस्राव, छोटो अस्पताल बसाइ र छिटो निको हुने अवसर प्रदान गर्ने यो प्रविधिबाट विशेष गरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा बढी भएको डा. गुरुङले बताए।

रोबोटिक सर्जरीमा उपकरण अत्यन्त संवेदनशील र सूक्ष्म हुने जनाउँदै उनले भने, “यी उपकरणले मानव हातले गर्न नसक्ने अत्यधिक सूक्ष्म शल्यक्रिया गर्न सक्छन्, जसले गर्दा शल्यक्रियाको क्रममा शरीरको अन्य भागमा न्यूनतम क्षति पुग्छ र शल्यक्रियाको परिणाम अत्यन्तै विश्वासिलो तथा सुरक्षित हुन्छ।”

सानो प्वाल, कम रक्तस्राव, कम पीडा र छिटो निको हुने भएकाले यो धेरै बिरामीको रोजाइमा पर्ने डा. गुरुङ बताउँछन्। अन्य प्रविधिबाट असम्भव हुने शल्यक्रिया पनि यस प्रविधिबाट गर्न सकिने उनको दाबी छ।

डा. गुरुङका अनुसार, रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिन्छ। यसैले शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने र अन्य शल्यक्रियाको तुलनामा बिरामी छिटो निको हुने उनले बताए। “रोबोटिक शल्यक्रियामा अत्याधुनिक कम्प्युटर प्रणाली भएकाले गतिविधि एकदम तीव्र हुन्छन्, त्यसैले गर्दा ठूलो ठूलो शल्यक्रियामा धेरै फाइदा हुन्छ,” उनले भने।

रोबोटिक शल्यक्रियाको शुल्क महँगो भए पनि अस्पताल बसाइ कम, समयको बचत, घाउ निको हुने दर उच्च जस्ता कारणले गर्दा समग्रमा बिरामीलाई फाइदा पुग्ने डा. गुरुङले स्पष्ट पारे।

मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले यहाँ भित्रिएको रोबोट माइक्रोपोर्ट कम्पनीले बनाएको ‘टुमाइ’ नामक रोबोटिक प्रणाली भएको बताए। उनले ३२ करोड रुपैयाँ लागतमा यो प्रविधि भित्र्याइएको जानकारी दिए। “यो प्रविधि चाइनामा निर्मित युरोपियन सेफ्टी ‘सर्टिफिकेसन’ पास गरेको छ, जसले यसको उच्च सुरक्षा मापदण्ड पुष्टि गर्दछ,” उनले भने।