वीरगन्ज भन्सारमा ६ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र

कोभिड महामारीअघि तेस्रो मुलुकबाट भित्र्याइएका १८५ मालवाहक कन्टेनर भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा छन्।

फाइल तस्वीर

पर्सा– वीरगन्ज भन्सार कार्यालयमा ६ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन्। कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका ती मालवाहक कन्टेनर अहिले पनि भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे छन्। आयातकर्ताले भन्सार जाँच पासको प्रक्रिया अघि नबढाउँदा मालवस्तुसहितका ती कन्टेनर अहिले पनि बन्दरगाहमा थुप्रिएका छन्।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले २०७६ सालमा आयात गरिएका मालवाहक कन्टेनरमध्ये अहिले पनि १८५ वटा अलपत्र रहेको जानकारी दिए। “त्यो बेला २२० कन्टेनर आएका थिए, जसमध्ये तीनवटा कन्टेनरको आवश्यक कानुनी प्रक्रिया पूरा गरी फिर्ता भइसकेका छन्,” उनले भने। 

उनका अनुसार, तीमध्ये थप १४ कन्टेनर खाली भएर कानूनी प्रक्रिया पूरा हुने चरणमा पुगेको छ। बाँकी कन्टेनर कसरी व्यवस्थापन गर्ने विषयमा आवश्यक परामर्श गरिरहेका उनले बताए।

ज्ञवालीले आयातकर्ताको पहिचान गर्न नसक्दा पनि ती कन्टेनर सुक्खा बन्दरगाहमा अलपत्र रहेको बताए। “अहिले पनि १८५ मालवाहक कन्टेनर मुचुल्का उठाएर सिलबन्दी गरेर राखेका छौँ,” उनले भने। यी कन्टेनर खाली गरी व्यवस्थापन गर्न लामो कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको उनले बताए।

सिलबन्दी गरिएका कन्टेनरमध्ये ९० वटामा केराउ, ६१ वटामा छोकडा, १० वटामा पोस्ता दाना, नौ वटामा सुपारी, सात वटामा फुड सप्लिमेन्ट (आहार पूरक) र दुई कन्टेनरमा मुसुरो दाल छ। भन्सार कार्यालयका अनुसार केही सिलबन्दी कन्टेनरमा चना, ओखर, उडन टुथब्रस, बफेल्लो हर्न, मुंग दाल र डियो स्प्रेलगायतका वस्तु पनि छन्।

प्रमुख भन्सार प्रशासक ज्ञवालीले सुक्खा बन्दरगाहमा रहेका नष्ट गर्नुपर्ने मालवाहक कन्टेनरको विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग लगायतका निकायसँग समन्वय भइरहेको पनि बताए।

विगतमा कन्टेनरको मालवस्तु हेरेर ल्याब ‘टेस्ट’ गरिएको थियो। “६ वर्षअघि ल्याब टेस्ट गर्दा राम्रो देखिएको वस्तु तथा सामान अहिले बिग्रिसकेको हुन सक्छ” उनले भने, “त्यसैले पनि नष्ट गर्नुपर्ने सामानको विषयमा फेरि ल्याब टेस्ट गर्नुपर्ने वा नपर्ने विषयमा पनि आवश्यक समन्वय भइरहेको छ।"