बिहारमा दोहोरिँदै एनडीए सरकार, ‘चुनावी रणनीतिकार’ प्रशान्तको दल शून्य सिटतर्फ

दक्षिणका १३ जिल्लासँग सीमा जोडिने बिहारको विधानसभा चुनावको चासो नेपालीलाई पनि हुने त छँदैछ, त्यहाँ बन्ने सरकारको नीतिले नेपाल पनि प्रभावित हुन्छ। तर यसपटक नीतिशकै नीतिले निरन्तरता पाउने निश्चित भएको छ।

काठमाडौँ– भारतको बिहारमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) फराकिलो जिततर्फ अग्रसर छ। यसको अर्थ नीतीश कुमार लगातार पाचौँ कार्यकालका लागि मुख्यमन्त्री हुँदैछन्।

भारतीय जनता पार्टी र जनता दल यूनाइटेड सम्मिलित एनडीएले विधानसभाको २४३ सिटमध्ये शुक्रबार साँझ ५ बजेसम्म २०३ सिटमा अग्रता लिएको भारतीय चुनाव आयोगले जारी गरिरहेको मतगणना नतिजाले देखाइरहेको छ। भारतीय राष्ट्रिय कांग्रेस र राष्ट्रिय जनता दलसहितको महागठबन्धनले ३४ सिटमा मात्र अग्रता कायम गरेको छ। अन्य दलले ६ सिटमा अग्रता लिएका छन्।

अघिल्लो पटक एनडीए १२५ सिटमा विजयी हुँदा महागठबन्धनले ११० सिट पाएको थियो। नोभेम्बर ६ र ११ मा सम्पन्न २४३ सदस्यीय विधानसभाको दुई चरणको चुनावमा अघिल्लो पटकको ५७ प्रतिशतको ठाउँमा योपालि ६७.१३ प्रतिशत मतदान भएको थियो।

बिहारमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका नेता हुन् नीतीश। एनडीएले यसपटक पनि उनैलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ।

यसपटकको निर्वाचनअघि ‘चुनावी रणनीतिकार’ भनेर चिनिएका प्रशान्त किशोरले गठन गरेको पार्टी जनसुराजको पनि चर्चा थियो। तर उक्त पार्टीले जितको खातासमेत नखोल्ने देखिएको छ। जबकि, यसअघि लोकसभा र विधानसभाका चुनावमा विभिन्न पार्टीलाई जिताउन उनको रणनीतिले काम गरेको चर्चा हुन्थ्यो।

जनसुराजले एनडीए र महागठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेर व्यापक जनअभियान चलाएको थियो। दोस्रो चरणको मतदान र मतगणनाबीच पनि उनी आफ्नो राजनीतिक अभियान सार्थक हुने बताइरहेका थिए।

इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानको गणना शुक्रबार बिहानदेखि शुरू हुँदा प्रशान्त किशोरका लागि नतिजा निराशाजनक छ। साँझसम्मको गणनाले अर्को पाँच वर्ष सत्ताको बागडोर नीतीश कुमारको हातमा पर्ने देखाएको छ। यसले बिहार सरकारको नीतिमा ठोस परिवर्तन नहुने संकेत गरेको छ, जसबाट नेपाल प्रभावित हुनसक्थ्यो।

करिब १० वर्षअगाडि बिहारमा नीतीश सरकारले मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि त्यहाँका मदिराका सोखिनहरूको लागि नेपाल गन्तव्य बन्ने गरेको छ। प्रशान्त किशोरले आफू सत्तामा आएपछि एक घण्टाभित्र मदिरामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका थिए। बिहारमा मदिराको २० हजार करोड रुपैयाँ बराबरको अवैध कारोबारको आम्दानी माफिया र भ्रष्ट नेताहरूको हातमा पुगिरहेको प्रशान्तको दाबी छ। 

वीरगन्जमा होटेल र ब्यांकेट संचालन गर्ने हरि पन्त सीमापारि मदिरा प्रतिबन्धित हुँदा उताका मानिसहरूले वारि आएर बिहेभोज दिने हुँदा नेपाली व्यवसायीलाई लाभ पुगेको बताउँछन्। होटल व्यवसायी महासंघका सचिवसमेत रहेका पन्तले बिहारमा मदिरा खुल्ला भइदिँदा अहिलेको बजार खुम्चिने बताए। व्यवसायीहरूका अनुसार, भारतीय ग्राहकहरूका कारण नेपालतर्फ होटल बुकिङ, रेस्टुरेन्ट र साना मासु मदिरा पसल मात्र होइन, क्यासिनोको व्यापार पनि फस्टाएको छ।

नीतीशले विकास र अपराध नियन्त्रणमा बिहारमा राम्रो छवि बनाएका छन्। पछिल्लो समय उनको नेतृत्वमा सुशासनको अवस्था कमजोर भएको प्रतिपक्षीको आरोप छ। प्रशान्तले बिहारबाट रोजगारीको लागि हुने पलायनको बाध्यतालाई पनि ठूलो मुद्दा बनाएका थिए।

राजनीतिक विश्लेषक चन्द्रकिशोर बिहारजस्तो जातीय संरचनामा आधारित राजनीति हाबी रहेको ठाउँमा सितिमिति राजनीतिक परिवर्तन सम्भव नहुने देखिएको बताउँछन्। “जातीय आयाम एउटा कुरा भयो, त्यसपछि हिन्दुत्वको सवाल चुनावसँग जोडिएर आयो। चुनावअगाडि महिलाहरूलाई नगद बाँड्ने योजनाले पनि प्रभाव पर्‍यो,” चन्द्रकिशोर भन्छन्, “लालुप्रसाद यादवको समयमा भएको अपराधलाई एउटा वर्गले बिर्सिन सकेको छैन। नरेन्द्र मोदीको एउटा छाप पनि छ, जसले निश्चित रूपमा प्रभाव परेको देखिन्छ।”

प्रशान्तको चुनावी अभियानमा राम्रो भीड देखिएको थियो। सामाजिक सञ्जालमा रहेका सामग्रीमा पनि मानिसहरूले समर्थन देखाएका थिए। बिहारमा परिवर्तनका लागि सडकमा आवाज उठ्ने, आन्दोलनको रापताप उठ्ने तर निर्वाचनमा पुरानै दलमाथि विश्वास देखाउने प्रबृत्ति नयाँ होइन। प्रशान्त किशोरको सवालमा पनि त्यस्तै भएको छ।

सन् १९७४ मा विद्यार्थी प्रदर्शनबाट शुरू भएर, पछि जयप्रकाश नारायणको नेतृत्वमा बढेको ‘सम्पूर्ण क्रान्ति’ कहलिएको ऐतिहासिक आन्दोलनले पनि त्यहाँ सत्ताबाट पुरानो शक्तिलाई विस्थापित गर्न सकेको थिएन। त्यसपछि पनि परिवर्तनका लागि थप डेढ दशक कुर्नु परेको थियो। त्यही आन्दोलनबाट नेताका रूपमा स्थापित लालुप्रसाद यादव, नीतीश कुमार, शरद यादव, सुशील मोदीजस्ता नेताहरू भारतीय राजनीतिका ठूला खेलाडी भएर निस्किए, जो केन्द्रमा पनि सत्ताको समिकरण उटलफेर गर्ने बुता राख्थे।

चन्द्रकिशोरका अनुसार, भारतमा जनसंघ (भारतीय जनता पार्टीको माउ संस्था) बाट मूलधारका दल र समाजवादीहरूले पहिला दूरी बनाउने गरेका थिए। पछि जनसंघलाई जयप्रकाशले नै आफ्नो नेतृत्वको मोर्चामा सामेल गरे। यतिखेर त्यही शक्ति केन्द्र र बिहारलगायत प्रान्तमा सत्तामा भएको उनी बताउँछन्।

पूर्वी चम्पारणका एक शिक्षक राहुल कुमार विकास र परिवर्तनबारे जस्तोसुकै कुरा गरे पनि बिहारमा जातीय पक्षले गहिरो जरा गाडेको बताउँछन्। भारतीय जनता पार्टी र एनडीए भनेपछि हिन्दूहरूको पार्टी र महागठबन्धन भनेपछि मुस्लिम तुष्टिकरण गर्ने पार्टीको रूपमा परिभाषित भएको र जनताले त्यसैअनुसार मत दिने उनको दाबी छ।

“अब भन्नुस यस्तोमा मुद्दा र नाराले काम गर्ला? हो, प्रशान्तले शुरू गरेको अभियानले चुनावी नतिजामा असर नपारे पनि केही मुद्दाहरूको जग राजनीतिक रूपमा अवश्य नै बसालेको छ, याद गर्न सकिन्छ कुनै बेला भारतीय जनता पार्टीले लोकसभा (संघीय संसद्) मा दुई सिट जितेको थियो र आज हेर्नुस्।”