कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कारागार प्रशासक राजेन्द्र शर्माका अनुसार हालसम्म फरार रहेकामध्ये १८७ पुरुष र ११ महिला छन्। तीमध्ये ११ भारतीय र दुई चिनियाँ नागरिक रहेका छन्।

कास्की– जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन्। आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७७३ जनामध्येमा कोही आफै फर्किएको र केहीलाई प्रहरीले पक्राउ गरेको थियो।

कारागार नफर्की हालसम्म फरार रहेका मध्येमा १८७ जना पुरुष र ११ जना महिला रहेको कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार, उनीहरूमध्येमा १३ जना विदेशी रहेका छन्।

विदेशीमा ११ जना भारतीय र दुई जना चिनियाँ रहेका छन्। कास्कीबाट भागेकामध्येमा १९ जना अन्य जिल्लामा समातिएका थिए। त्यसैगरी, अन्य जिल्लाबाट भागेका सात जना कास्कीमा पक्राउ परेको जनाइएको छ। कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए।

“प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेकामध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन्। केहीलाई विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो। फरार रहेकाको खोजी प्रहरीले गरिरहेको छ,” उनले भने। फरार कैदीहरूमा लागुऔषधसम्बन्धी मुद्दा र लामो समयको सजाय तोकिएका बढी रहेका छन्।

आजीवन कारावासको सजाय तोकिएका दुई जनामध्ये एक जनालाई म्याग्दीबाट पक्राउ गरिएको र एक जना अझै फरार रहेको बताइन्छ। आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई कारागारले गत असोज १२ गते सूचना जारी गरी असोज २० गतेसम्म फर्कन समय दिएको थियो। तर तोकिएको समयभित्रमा कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको प्रहरीले खोजबिन गरिरहेको छ।

कारागार प्रशासनले फरार रहेकाहरू प्रचलित कानूनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कानुनअनुसार कारबाही हुने जनाएको छ।