साढे २ लाखभन्दा बढी नयाँ मतदाता थपिए, नाम दर्ताको म्याद मंसिर ५ गतेसम्म

आयोगले उत्साहजनक सहभागिता र नागरिकको सुविधालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको अवधि मंसिर ५ गतेसम्म थप गरेको जनाएको छ।

आइतबार काठमाडौँस्थित जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ताका लागि आएका सर्वसाधारण। तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– असोज ९ गतेयता साढे दुई लाखभन्दा बढी नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार, मतदाता नामावली ऐन, २०७३ मा गरिएको संशोधनपश्चात् नाम दर्ता गर्ने अवधि कात्तिक ३० गतेसम्म कायम गरिएको थियो। आयोगले असोज ९ गते गरेको म्याद थपको निर्णयपछि कात्तिक २७ गतेसम्म कुल दुई लाख ५७ हजार ५०५ नयाँ मतदाता दर्ता भएका छन्।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै नागरिकको सहजताका लागि नाम दर्ताको अवधि मंसिर ५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “थप गरिएको अवधिमा मतदाता नामावली दर्ता गराउन राष्ट्रिय परिचयपत्र वा साबिकको माध्यमबाट आवेदन दिन सकिनेछ। त्यसपछि सम्बन्धित निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिनेछ।”

भोलि शनिबार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले https://applyvoter.election.gov.np/ मार्फत आवेदन दिन सकिने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले सो दिन आवेदन गर्न नसकिने आयोगले जनाएको छ।

आयोगले पहिले नै आवेदन पेस गरिसकेका नागरिकहरूलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य शनिबार सञ्चालन हुने जानकारी गराएको छ।

आयोगले सबै सेवाग्राहीलाई सम्बन्धित कार्यालयसँग सम्पर्क गरी शनिबारको दिनसमेत जैविक विवरण दिने सेवा लिन अनुरोध गरेको छ। साथै, आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई शनिबारका दिन मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण संकलन गर्ने सेवा पूर्ववत् रूपमा सञ्चालन गर्न जानकारी गराएको छ।

भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनपछि वर्तमान सरकारले प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते गर्ने मिति तय गरेको छ। अहिले त्यसका लागि मतदाता नामावली संकलन भइरहेको हो।