वडाध्यक्ष यादवमाथि गोली प्रहारको आरोपमा प्रहरी जवान पक्राउ

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ परेका छन्।

जनकपुरधाम— धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन्।

भोजमा भएको विवादका कारण प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमको भनाइ छ।

प्रहरीका अनुसार, उक्त घटनामा केही व्यक्ति घाइते पनि भएका छन्। घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ भने मृतक यादवको शव परीक्षणका लागि अस्पतालमा ल्याइएको छ।

गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमै कार्यरत रहेको प्रहरीले जनाएको छ। डीएसपी बमले घटनाबारे अनुसन्धान शुरू भएको जानकारी दिए।