बिहार विधानसभामा एनडीएले जित्यो २०२ सिट, नीतीशकुमार पुन: मुख्यमन्त्रि बन्ने निश्चित

बिहारमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका नेता हुन् नीतीश। एनडीएले यसपटक पनि उनैलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ।

बिहार विधानसभा चुनावको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले फेरि एक पटक भारी जित हासिल गरेको छ।

बिहार विधानसभा चुनावका सबै २४३ सिटमध्ये एनडीएले २०२ सिटमा जित हासिल गरेको छ। गठबन्धनको सबैभन्दा ठूलो दल भारतीय जनता पार्टीले सबैभन्दा धेरै ८९ सिट र यसको सहयोगी जनता दल (युनाइटेड) अर्थात् जेडीयूले ८५ सिट जितेका छन्। यस्तै, एनडीएकै हिस्सा चिराग पासवानको लोक जनशक्ति पार्टी (रामविलास)ले १९ सिट जितेको छ। जितनराम मांझीको हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर)ले पाँच सिट जितेको छ। उपेन्द्र कुशवाहाको राष्ट्रिय लोक मोर्चाले चार सिट जितेको छ।

भारतीय राष्ट्रिय कांग्रेस र राष्ट्रिय जनता दल (आरजेडी)सहितको महागठबन्धनले ३४ सिटमा मात्र जित हात पारेको छ। आरजेडीले निकै खराब प्रदर्शन गर्‍यो। महागठबन्धनको नेतृत्व गर्ने यस पार्टीले २५ सिटमा मात्र चित्त बुझाउनु पर्यो। जबकि सहयोगी दल कांग्रेसले छ सिट पाएको छ।

भारतीय कम्युनिष्ट पार्टी (एमएल) लिबरेशनले दुई सिट जित्यो। ​​​​​​​जबकि असदुद्दीन ओवैसीको पार्टी एआईएमआईएमले पाँच सिट जित्न सफल भयो। भारतीय समावेशी पार्टी, सीपीआई (एम) र बहुजन समाज पार्टीले एक/एक सिट पाएका छन्।

जितसँगै बिहारका मुख्यमन्त्री नीतीश कुमारले बिहारका जनताले चुनावमा एनडीएलाई भारी बहुमत दिएर सरकारमाथि आफ्नो विश्वास व्यक्त गरेका बताएका छन्।

"यसका लागि म राज्यका सबै सम्मानित मतदाताहरूलाई अभिवादन गर्छु, हार्दिक आभार व्यक्त गर्छु र धन्यवाद दिन्छु। सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको समर्थनको लागि म अभिवादन गर्छु र हार्दिक आभार व्यक्त गर्छु," उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

बिहारमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका नेता हुन् नीतीश। एनडीएले यसपटक पनि उनैलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ। यसको अर्थ नीतीश कुमार लगातार पाचौँ कार्यकालका लागि मुख्यमन्त्री हुँदैछन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारका जनताले विकसित बिहारको लागि मतदान गरेका बताएका छन्।

"चुनावी अभियानको क्रममा मैले बिहारका जनतालाई रेकर्ड संख्यामा मतदान गर्न आग्रह गरेको थिएँ र बिहारका जनताले सबै रेकर्ड तोडेका छन्," उनले भने, "मैले बिहारका जनतालाई एनडीएलाई भारी बहुमतले जिताउन आग्रह गरेको थिएँ र बिहारले २०१० पछि एनडीएलाई सबैभन्दा ठूलो जनादेश दिएको छ। म एनडीएका सबै दलहरूको तर्फबाट बिहारका महान जनताप्रति धेरै विनम्रतापूर्वक कृतज्ञता व्यक्त गर्दछु।"

कांग्रेस नेता राहुल गान्धीले बिहार विधानसभा चुनावको नतिजालाई 'गहिरो स्तब्ध पार्ने' भनेका छन्। चुनाव प्रक्रिया शुरूदेखि नै निष्पक्ष नभएका महागठबन्धनले जित्न नसकेको बताएका छन्। महागठबन्धनले व्यापक जनसमर्थन प्राप्त गरे पनि चुनावमा निष्पक्षताको अभावले परिणामलाई असर पारेको उनको आरोप छ।

बिहार चुनावको नतिजाको बारेमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले प्रधानमन्त्री मोदीको नेतृत्वमा रहेको एनडीएले बिहार चुनावमा उल्लेखनीय विजय हासिल गरेको बताएका छन्।

"यो भारतका जनताको हृदयको आवाज हो। बिहारका जनताले सुशासन र विकासको लागि आफ्नो मतदान गरेका छन्," उनले भनेका छन्, "मलाई विश्वास छ कि प्रधानमन्त्री मोदीको नेतृत्वमा आगामी वर्षहरू बिहारका लागि सुनौलो वर्ष हुनेछन्। बिहारका जनताका लागि नयाँ अवसर र नयाँ बाटोहरू खुल्नेछन्।"