काठमाडाैँमा 'म्यारिज ब्युरो' चलाइरहेका ४ जना चिनियाँ नागरिक पक्राउ

ती चिनियाँ नागरिकले विपन्न तथा विकट क्षेत्रका युवतीहरूलाई आफ्नो जालमा पार्ने गरेका र केहीलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ।

काठमाडौँ– काठमाडौँको सोह्रखुट्टेमा म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्युरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको उनले बताए। उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ।

उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ। पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ।