सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ।
काठमाडौँ– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचतपत्रको बिक्री खुला गरेको छ। कार्यालयले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको 'नागरिक बचतपत्र–२०८७' र ५० करोड रुपैयाँ बराबरको 'वैदेशिक रोजगार बचतपत्र–२०८७' निष्कासन गर्न लागेको हो।
पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आगामी मंसिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मंसिर २८ गते निष्कासन हुनेछ। नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ।
बचतपत्रको ब्याज हरेक ६–६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ। यस बचतपत्र घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमाभित्र रही १० हजार रुपैयाँले निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ।
नागरिक बचतपत्र नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक र गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन्। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्र खरिदका लागि आवेदन दिन सकिनेछ।
अघिल्ला वर्षमा नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुँदा वैदेशिक रोजगार बचतपत्रमा भने लगानीकर्ताको न्यून चासो देखिने गरेको छ। लगानीकर्तालाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा विगतका वर्षमा निष्कासन गरिएको रकमभन्दा कम मात्रै खरिद हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले बताए।
उपसचिव पुडासैनीले बचतपत्रको महत्त्वबारे नागरिकलाई पर्याप्त जानकारी नभएको औँल्याए। उनले भने, “बचतपत्र के हो, किन लगानी गर्ने, कसरी लगानी गर्ने जस्ता विषयमा धेरैलाई जानकारी छैन। पछिल्ला वर्षमा खरिदकर्ताको संख्या बढ्दै गए पनि अझै धेरैले जानकारी पाएका छैनन्।”
नागरिक बचतपत्रका लागि पछिल्लो चार दिनमा मात्र ८० करोड रुपैयाँ बराबरको आवेदन परिसकेको पुडासैनीले जानकारी दिए। यस वर्ष तोकिएको समयअघि नै खरिद भइसक्ने अनुमान गरिएको उनको भनाइ छ। उनका अनुसार पहिले आवेदन दिनेले पहिले खरिद गर्न पाउने यी बचतपत्र 'स्टक'का रूपमा जारी हुनेछन्।
यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक रहेका जनाउँदै पुडासैनीले यसको महत्त्व र फाइदाबारे अधिकांश नागरिकलाई जानकारी नभएको बताए। “लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजी बजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन्। लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण बचतपत्र हो”, उनले भने।
उपसचिव पुडासैनीका अनुसार बचतपत्र पूर्ण रूपमा सुरक्षित लगानी हो। यसमा सरकारले मूलधनको सुरक्षित प्रत्याभूति गरेको हुन्छ। साथै, बचतपत्रको ब्याज रकम हरेक ६ महिनामा खरिदकर्ताको बैंक खातामा सिधै जम्मा हुन्छ। यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने पुडासैनीले उल्लेख गरे।
“बचतपत्र दोस्रो बजारमा सहजै कारोबार हुने गर्छ। बचतपत्र धारकले बेच्न चाहेको जुनसुकै बेला पनि बैंक तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था छ,” उपसचिव पुडासैनीले भने, “सोही कारण बचतपत्रलाई तत्काल तरलतामा रूपान्तरण गर्न सकिन्छ, अर्थात् खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
