विद्युत् विस्तारका क्रममा करेन्ट लागेर कामदारको मृत्यु

महोत्तरीमा विद्युत् विस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ।

प्रतीकात्मक तस्वीर

महोत्तरी– विद्युत् विस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा विद्युत् विस्तारको काम गरिरहेका क्रममा करेन्ट लागेर मृत्यु भएको परिवारजनले बताएका छन्।

टाटा सप्लाई निर्माण कम्पनीको विद्युत् विस्तारमा ज्यालादारी कामदार रहेका यादवलाई शुक्रबार लाइन काटिएको सूचनाका आधारमा तार तान्दै गर्दा करेन्ट (विद्युतीय झट्का) लागेको थियो। उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्‍याइयो। तर, त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवका अनुसार, मृतकका परिवारले विद्युत् प्राधिकरण कार्यालय गौशाला र टाटा सप्लाईको बर्दिबासस्थित कार्यालयबाट उचित क्षतिपूर्ति दिने लिखित प्रतिबद्धता नभएसम्म अन्तिम संस्कार नगर्ने बताएका छन्। प्रजिअले क्षतिपूर्तिको व्यवस्थाका लागि पहल थालिएको जानकारी दिए।