निगमले बढायो पेट्रोल र डिजेल/मट्टितेलको मूल्य

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढेको हो।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ। निगमले भारतीय आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यसूचीका आधारमा मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढेको हो। नयाँ समायोजित मूल्य शनिबार मध्यरात १२ बजे पछिबाट लागू हुने निगमले जनाएको छ।

नयाँ खरिद मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा २.५४ रुपैयाँ र डिजेलमा ६.५३ रुपैयाँले मूल्य बढेर आएको थियो। निगम सञ्चालक समितिले उपभोक्ताको हितलाई मध्यनजर गर्दै साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल र डिजेल/मट्टितेलमा क्रमशः २ र ३ रुपैयाँ मात्र मूल्य बढाउने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल)का लागि अब प्रतिलिटर पेट्रोलको मूल्य १६१ र डिजेल/मट्टितेलको मूल्य १४७ रुपैयाँ कायम गरिएको छ। यसअघि, तेस्रो वर्गमा प्रतिलिटर पेट्रोल १५९ र डिजेल/मट्टितेल १४४ रुपैयाँमा बिक्री भइरहेको थियो।

यसैगरी, पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज)मा पेट्रोल १५८.५० र डिजेल/मट्टितेल १४४.५० रुपैयाँमा बिक्री हुनेछ। यसअघि, पहिलो वर्गमा प्रतिलिटर पेट्रोल १५६.५० र डिजेल/मट्टितेल १४१.५० रुपैयाँमा बिक्री भइरहेको थियो।

त्यस्तै, मूल्य वृद्धिसँगै दोस्रो वर्ग (सुर्खेत र दाङ)मा भने पेट्रोल १६० र डिजेल/मट्टितेल १४६ रुपैयाँ कायम गरिएको छ। यसअघि, दोस्रो वर्गमा प्रतिलिटर पेट्रोल १५८ र डिजेल/मट्टितेल १४३ रुपैयाँमा बिक्री भइरहेको थियो।

निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाए पनि हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ। निगमले भारतीय आयल कर्पोरेसनबाट हरेक १५/१५ दिनमा प्राप्त हुने मूल्यसूचीका आधारमा नेपालमा मूल्य निर्धारण गर्ने गर्दछ।