मालढुंगा–बेनी सडक मंसिर २० गतेसम्म दैनिक ७ घण्टा बन्द हुने

मालढुंगा–बेनी सडक म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने र चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।

पर्वत– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुंगा–बेनी सडक स्तरोन्नतिका निम्ति मंसिर १ गतेदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ।

कालोपत्रेको कार्यलाई तीव्रता दिन सवारीसाधनको आवतजावतले बाधा पुर्‍याएपछि मंसिर १ देखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको हो।

कालोपत्रे गर्ने कार्यमा सवारीसाधनको आवागमनले अवरोध पुगेकाले, बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, जोमसोमको अनुरोधमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले एम्बुलेन्स, बिरामी बोकेका र विकास निर्माणका अत्यावश्यकबाहेकका सबै सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।

कुश्मा नगरपालिका–१ मालढुंगादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किलोमिटर दुरीमा दुई लेनको सडक स्तरोन्नति भइरहेको छ। उक्त सडक बन्दको समयमा मालढुंगा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ।

ठेकेदारको ढिलासुस्ती र आयोजना पक्षको उदासीनताका कारण विसं २०७७ चैत्रमा ५२ करोड ४६ लाख रुपैयाँमा सम्झौता गरिएको उक्त काम हालसम्म पूरा हुन सकेको छैन। विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत शुरू गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो।

मालढुंगा–बेनी सडक म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने र चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।