एलओडीमा गुन्जिए कलेजो प्रत्यारोपण सर्जन भण्डारी

कलेजो प्रत्यारोपण सर्जन प्राडा. भण्डारीले एलओडीमा करिब दुई घण्टा आफ्नै स्वरमा रेकर्ड गराएका केही गीत र चर्चित नेपाली गीतहरू गाएर माहौल उल्लासमय बनाए।

काठमाडौँ– चिकित्सा पेसा, त्यसमा पनि व्यस्त सर्जनको दैनिकीमा व्यक्तिगत रुचि पूरा गर्ने समय मिलाउन सधैँ सकस हुने गर्छ। तर, प्राडा. रमेशसिंह भण्डारी अपवाद हुन्, जसले व्यस्त पेसागत दैनिकी बाबजुद पनि पेसा र रुचिबीच सन्तुलन मिलाइरहेका छन्। अपरेसन थिएटर, ओपीडी र चिकित्सा शिक्षाका कक्षाबाट फुर्सद मिल्नासाथ उनी गीतसंगीत र खेलकुदमा सक्रिय हुन्छन्।

पेसा र रुचिको तालमेल मिलाउन सक्ने यही खुबीको नतिजा उनले शनिबार साँझ ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)मा प्रस्तुत गरे। एलओडी, प्राडा. भण्डारीको चिकित्सा कर्म र संगीत साधनाको दुर्लभ मिलनलाई उत्सवमय बनाउने थलो बन्यो। त्यहाँ उनी ‘जब पेसा र रुचि भेटिन्छन्’ थिममा गुन्जिए।

कलेजो प्रत्यारोपण सर्जन भण्डारी (जसको पहल र नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा शुरू भएको हो)ले एलओडीमा शनिबार साँझ करिब दुई घण्टा आफ्नै स्वरमा रेकर्ड गरेका केही गीतसँगै चर्चित नेपाली गीतसमेत गाएर माहौल उल्लासमय बनाए। यस प्रस्तुतिसँगै पृष्ठभूमिको ठूलो पर्दामा उनको चिकित्सा कर्मका दृश्य–तस्वीर पनि दौडिरहेका थिए।

धेरैजसो चिकित्सा क्षेत्रकै सहकर्मी र शुभचिन्तकले भरिभराउ क्लबमा उनलाई सांगीतिक प्रस्तुतिमा रोशन श्रेष्ठ र उनको टिमले सघाएका थिए। “संगीत मेरो रुचि हो। मलाई कुनै दिन एउटा कन्सर्ट गरौँ भन्ने थियो,” उनले सुनाए, “यसलाई कन्सर्ट नै त नभनौँ, मैले तपाईंहरू सबै सँगसँगै गाउने र नाच्ने अवसरका रूपमा यसलाई लिएको छु।”