सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि आगजनीका कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सुचारु भएको हो।

काठमाडौँ– सर्वोच्च अदालत सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि आगजनीका कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सुचारु भएको हो।

सर्वोच्च अदालतको गत कात्तिक २१ गते बसेको पूर्ण बैठक (फूलकोर्ट)ले आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका घटनाबाट सुरक्षित रहेका मुद्दाहरू तथा अवरुद्ध सबै सेवा मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

“मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मंसिर १ गतेदेखि पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ”, पूर्ण बैठकले भनेको थियो, “अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अंग पुर्‍याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकार भएकाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।”

अवरुद्ध भएका सेवाहरू शुरू भएसँगै, मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाऊँको निवेदन तथा पुनरावलोकन निवेदनसहित सबै प्रकारका मुद्दा तथा निवेदनहरूको दर्ता एवं सुनुवाइ आजदेखि शुरू भएको सर्वोच्च अदालतले जनाएको छ। 

जेनजी आन्दोलनका क्रममा अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका केही मिसिलहरूसमेत जलेका थिए। यद्यपि, अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको पुनः प्राप्ति (‘रिकभर’) गर्न सफल भएको छ।