त्रिवि मैदानबाट ‘बेटिङ एप’को प्रचार नहटाएको भन्दै गएनन् खेलकुदमन्त्री एनपीएलको उद्घाटनमा

खेलकुदमन्त्री बब्लु गुप्ताले मैदानमा नेपालको कानूनले बर्जित गरेको ‘बेटिङ एप’को विज्ञापन नहटाएको भन्दै एनपीएलको उद्घाटन समारोहमा अनुपस्थित रहने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शुरू भएको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन समारोहमा सरोकारवाला मन्त्रालयका मन्त्री बब्लु गुप्ता अनुपस्थित रहे। सोमबार साँझ एनपीएलको दोस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन्।

युवा तथा खेलकुदमन्त्री गुप्ताले नेपालको कानूनले बर्जित गरेको बेटिङ एपको विज्ञापन प्रयोग भएको भन्दै समारोहमा नजाने निर्णय लिएका हुन्। मैदानबाट हटाउन भनिएको ‘डाफान्युज’को विज्ञापन नहटाएपछि खेलकुदमन्त्री गुप्ता असन्तुष्ट थिए। यो ‘सरोगेट’ विज्ञापन हो।

सचिवालयका अनुसार, करिब १० दिनअघि गृह मन्त्रालयमार्फत बेटिङ एपको प्रचारप्रसारमा रोक लगाउन आग्रह गरिएको पत्र प्राप्त भएको थियो। मन्त्री गुप्ताले सोही पत्रलाई आधार बनाई नियमनमा केन्द्रित हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्राचार गरेका थिए। तर राखेप सदस्य-सचिव टंकलाल घिसिङले उक्त पत्राचारलाई बेवास्ता गरेको भन्दै मन्त्री गुप्ता एनपीएलको उद्घाटनमा अनुपस्थित रहने निर्णय भएको मन्त्रीको सचिवालयले उकालोलाई जानकारी दियो।

“सदस्य-सचिवले यसलाई नियमन गर्नुको सट्टा मिलेमतो गरेर बेटिङ रोकिएन” मन्त्रीको सचिवालयका सदस्यले उकालोसँग भने, “मन्त्रीज्यूलाई त्यही चित्त नबुझेकाले उहाँ नजाने निर्णय गर्नुभएको हो।”

आठ टोली सहभागी एनपीएल प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज र साबिक विजेता जनकपुर बोल्ट्स भिड्दै छन्। कीर्तिपुरस्थित मैदानमा टस जितेर काठमाडौँ गोर्खाजका कप्तान करण केसीले जनकपुरका कप्तान अनिल साहलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।

काठमाडौँ गोर्खाजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक समेत रहेका भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको छ। टोलीमा विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, स्कटल्यान्डका जेरहार्ड इरास्मस, अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेल, तथा इङ्गल्यान्डका बेन चाल्र्सवर्थ र जोन सिम्पसन समावेश छन्। अन्य खेलाडीहरूमा भीम सार्की, शाहव आलम, राशिद खान, दीपेश कँडेल, प्रतीक श्रेष्ठ, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापा छन्।

उता, जनकपुर बोल्ट्सको प्रशिक्षक जिम्मेवारी वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालले सम्हालेका छन्। जनकपुरले विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका इमरान ताहिर र वायने पार्नेल, श्रीलङ्काका लाहिरु मिलान्था, अमेरिकाका सञ्जय कृष्णमुर्ती र नामिबियाका निकोल लोफ्टी इटोनलाई टोलीमा समावेश गरेको छ। जनकपुरको टोलीमा आसिफ शेख, अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, तुलबहादुर थापा, मयन यादव, आदित्य महता, विकास आग्री र सचिन भट्ट समावेश छन्।