नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को बिन्दुमा कायम भएको छ भने चार अर्ब १० करोड रुपैयाँभन्दा माथिको शेयर किनबेच भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को बिन्दुमा कायम भएको हो।

यस दिन ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा चार अर्ब १० करोड ५४ लाख ६ हजार १३४ बराबरको कारोबार भएको छ। मंगलबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ।

सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैंक लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै साहस ऊर्जा लिमिटेडको सबैभन्दा धेरै २२ करोड ९१ लाख ६६ हजार ९१६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ।