एकले अर्कालाई निषेध गरेर दलहरू एक्लै अघि बढ्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले एउटै मात्रै दललाई पूर्ण विश्वास नगरेकाले सबै दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले एउटै मात्रै दललाई पूर्ण विश्वास गर्न नसकेको अवस्था रहेकाले कुनै राजनीतिक दल एक्लै अगाडि जान सक्ने अवस्था नरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले जनदेशअनुसार राजनीतिक दल एक्लै अगाडि बढ्न नसक्ने भएकाले मिलेर अगाडि बढ्नुपर्ने बताए। उनले आगामी दिनमा जनताको अभिमतलाई सम्मान गर्दै अगाडि बढ्न सक्षम हुने विश्वास व्यक्त गरे।

"जनदेशले भन्यो कि कुनै पनि राजनीतिक दल एक्लै जान सक्दैनौँ। र, कुनै पनि राजनीतिक दल र विचारलाई निषेध गरे जान सक्दैनौँ। सबै राजनीतिक दलहरू र सबै विचार मिलेर यो देश बन्न सक्छ। समस्याको समाधान हुन सक्छ। विश्वास छ आगामी दिनमा जनताको अभिमतलाई सम्मान गर्दै अगाडि जान सक्षम हुने छौँ", उनले भने।

उनले नेपालको अर्थतन्त्र ओरालो लागेको, विकास निर्माणका काम ठप्प भएको अवस्थामा प्रतिनिधिसभालाई काम गर्न चुनौती रहेको उल्लेख गरे। उनले समस्या समाधान गर्नका लागि सबै दलहरू मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे।

"विकास निर्माणको अवस्था के छ त्यो पनि सबै जनप्रतिनिधिलाई थाहा छ। विकास निर्माण गति सुस्त थियो, अहिले ठप्प छ। समस्याको चाङमाथि यो प्रतिनिधिसभामा आएका छौँ। फेरि भन्छु हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन", उनले भने, "हामी सबैका विचारभन्दा माथि देश छ। देशभन्दा माथि केही पनि छैन। त्यसकारण देशलाई शिरमा राखेर देशका यावत् समस्याहरू सामूहिक रूपमा समाधान गर्ने दिशातर्फ हामी अग्रसर हुन सकौँ।"