तनहुँमा बढ्यो मकै उत्पादन

विगतमा मकै लगाउने तथा गोड्ने बेलामा किरा लाग्नुका साथै किसानले मलको अभाव बेहोर्नुपरेको थियो। यो वर्ष उक्त समस्या नभएकाले उत्पादन बढेको हो।

डुम्रे– व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन्। यहाँ आउने जोकोही थांग्रो देखेर अचम्म मान्छन्। 

यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका माच रहेको दरै सामुदायिक घरबासका सञ्चालक आशा दरैले बताइन्। “यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन्। विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो। यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ,” उनले भनिन्।

 विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो। यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताए।   

आव २०७९/८० मा २२ हजार २३८ हेक्टर क्षेत्रफलमा गरिएको मकैखेतीबाट ६७ हजार १५ मेट्रिक टन उत्पादन भएको थियो। २०८०/८१ मा २२ हजार ३४८ हेक्टर क्षेत्रफलबाट ६७ हजार २०० मेट्रिक टन मकै उत्पादन भएको थियो। २०८१/८२ मा २२ हजार १९५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ७३ हजार २४६ मकै उत्पादन भएको छ। 

“तनहुँ धानका साथै मकै उत्पादनको क्षेत्र पनि हो। जिल्लाको ऋषिङ गाउँपालिका नै पहिले मकैको बीउ उत्पादनको पकेट क्षेत्र हो”, बाली विकास अधिकृत परियारले भने।