नेप्से परिसूचक करिब स्थिर, कारोबार रकममा भने सामान्य वृद्धि

बिहीबार धौलागिरि लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक करिब स्थिर अवस्थामा देखिएको छ। यस दिन ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा रोकिएको हो।

नेप्से घटे पनि यस कारोबार रकममा सामान्य वृद्धि देखिएको छ। बिहीबार कुल ३२८ स्टकको चार अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँ बराबरको तीन करोड चार लाख ४९ हजार २९६ कित्ता शेयर ६६ हजार ७९ पटकको कारोबार भएको नेप्सेले जनाएको छ। बुधबार भने तीन अर्ब ७७ करोड रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर कारोबार भएको थियो।

बिहीबार सेन्सेटिभ इन्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अंक घटेको छ। १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ।

यसैगरी, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक पनि सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। धौलागिरि लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस्तै, सिन्धु विकास बैंकको शेयर पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

बिहीबार बुंगल हाइड्रो पावरको शेयर सबैभन्दा बढी ९.०५ प्रतिशतले घटेर प्रतिकित्ता ५८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, सानिमा ग्रोथ फन्डको शेयर पनि ५.७६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा बुंगल हाइड्रो, साहस उर्जा, दरमखोला इनर्जी र माबिलुङ हाइड्रोको शेयर सबैभन्दा धेरै कारोबार भई शीर्ष स्थानमा रहे। यस क्रममा बुंगल हाइड्रोको शेयर प्रतिकित्ता ५८९ रुपैयाँको दरले सात हजार ३३३ कित्ता शेयर कारोबार भयो।