प्रभु म्यानेजमेन्टका कर्मचारी हेमकुमार महाजु पक्राउ

सीआईबीले ठगी तथा नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वशेयरधनी एवं हालका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी तथा नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वशेयरधनी एवं हालका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले महाजुलाई ललितपुर गोदावरी नगरपालिका–३, टौखेलबाट बुधबार पक्राउ गरेको हो।

ठाकुरप्रसाद मानन्धरसमेतको जाहेरीमा परेको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दाका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ।

सीआईबीले जारी गरेको विज्ञप्तिमा प्रभु म्यानेजमेन्टको नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट एक लाख ९९ हजार ५०० रुपैयाँका दरले पटक–पटक शंकास्पद रूपमा रकम जम्मा भएको भेटिएको उल्लेख छ।

त्यस्तै, रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेन्टले रेमिट रकम भुक्तानी मात्र गर्नुपर्नेमा एकै दिनमा पटकपटक शंकास्पद रकम जम्मा भएको, प्रभु म्यानेजमेन्टको नाममा सञ्चालन भएको सिटिजन्स बैंकको खातामार्फत रेमिट कारोबारको आवरणमा अवैध रूपमा नेपालमा विप्रेषणबापत प्राप्त हुने रकम हुन्डीमार्फत प्राप्त गरी हिसाब मिलान गरेको देखिएको सीआईबीले जनाएको छ।

“उक्त कसुरमा संलग्न रहेकामध्ये कम्पनीका पूर्वशेयरधनी, हाल लेखा शाखामा कार्यरत तथा हुन्डीमार्फत रकम जम्मा भएको सिटिजन्स बैंकमा रहेको प्रभु म्यानेजमेन्टको खाता सञ्चालक रहेकामध्येका एक हेमकुमार महाजुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ,” सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।