फिर्ता आएका मूर्ति पुनर्स्थापनामा कतै उत्साह, कहीँ अन्योल किन?

मूर्ति पुनर्स्थापनाका विषयमा कुनै समुदायमा देखिएको उत्सुकता र कतै देखिएको अन्योललाई समुदायको परिवर्तित मूल्यमान्यता र अपनत्वको भावनाले प्रभाव पारेको विज्ञहरू बताउँछन्।

काठमाडौँ– चार वर्षअघि ललितपुरको पटको टोलस्थित लक्ष्मीनारायणको मूर्ति पुनर्स्थापना गरियो। ३७ वर्षअघि चोरी भएर अमेरिका पुगेको यो मूर्तिलाई बाजागाजासहित धूमधाम जात्रा गरी पुनर्स्थापित गरिएको थियो। हुन त, चोरी भएर विदेश पुगेका मूर्तिहरू २०४२ सालदेखि नै फिर्ता हुन थालेका हुन्। तर, चोरीपश्चात् आफ्नो उत्पत्तिस्थलमा फर्किने पहिलो मूर्ति नै लक्ष्मी नारायणको मूर्ति बन्यो। साथै, पटको टोल र लक्ष्मी नारायणको यो घटना फिर्ता आएका सम्पदा समुदायमा पुनर्स्थापना हुन सक्छन् भन्ने उदाहरण बन्यो।

उक्त मूर्ति फिर्ता ल्याउन ‘नेपाल हेरिटेज रिकभरी क्याम्पेन’ (एनएचआरसी)ले अथक मिहिनेत गरेको थियो। यस अभियानसँगै एनएचआरसीले आफूलाई संस्थागत स्वरूप पनि दियो, चार वर्षको अन्तरालमा विभिन्न माध्यमबाट १७५ मूर्ति नेपाल फिर्ता आए। तीमध्ये १० वटा मूर्ति उत्पत्तिस्थल अर्थात् सम्बन्धित समुदायमा पुनर्स्थापनासमेत गरिए।

कुनै बेला ‘भगवान् मानेर पूजापाठ गरिएका’ मूर्तिहरू चोरी भएर सात समुद्रपारि पुगे पनि अनेक प्रयासपछि फिर्ता भएका यी मूर्तिहरूको पुनर्स्थापनाको गति भने सुस्त देखिन्छ। फिर्ता भएका मूर्तिहरूको अवस्था कस्तो छ र पुनर्स्थापनामा के कस्ता जटिलता छन्? यिनै विषयमा गत शुक्रबार एनएचआरसीले ‘भगवान् फिर्ता: समुदाय संवाद’ कार्यक्रम आयोजना गरेको थियो। छलफलमा फिर्ता आएर पनि संग्रहालयमा थन्किएका, समुदायमा पुनर्स्थापना हुन नसकेका र हराएका मूर्ति फिर्तीलाई समुदायले कसरी हेरेको छ भन्ने विषय केन्द्रित थियो।

मूर्ति पुनर्स्थापनाको अर्को सफल उदाहरण हो– २०७९ सालमा दोलखाको कोर्छेमी परिवारले पुनर्स्थापना गरेको बज्रधरको मूर्ति। निजी गुठीबाट हराएको उक्त मूर्ति चोरीमा संलग्न भएको आरोपमा सम्बन्धित परिवारले जेल सजायसमेत भोग्नुपरेको थियो। हङकङबाट फिर्ता आएको सो मूर्ति एक रात मात्र छाउनी संग्रहालयमा राखियो र लगत्तै उत्पत्तिस्थल दोलखामा पुनर्स्थापित गरियो।

चोरी भएको २८ वर्षपछि फिर्ता आएको मूर्तिलाई पुनः सोही स्थानमा राख्दा परिवारजनमा खुशी र पीडाको मिश्रित भाव देखिएको थियो। परम्पराअनुसार, यो मूर्ति हरेक वर्ष इन्द्रजात्राको समयमा पाँच दिनसम्म प्रदर्शनीमा राखिन्थ्यो भने बाँकी दिन निजी गुठीका सदस्यले सामान्य पूजाआजा गर्थे। मूर्ति चोरी भएपछि रोकिएको यो चलन विगत दुई वर्षयता भने निरन्तरता पाएको छ।

null

त्यस्तै, २०८१ साउनमा नक्सालस्थित श्री चन्द्रकृत महाविहारमा रहेको वासुकी नागको मूर्ति फिर्ता भयो। त्यसअघि सोही विहारको पद्मपाणि लोकेश्वरको मूर्ति पनि चोरी भएर फिर्ता आएको थियो। हाल यी मूर्तिहरूमा प्राणप्रतिष्ठा गरी परम्पराअनुसार पूजाआजा हुँदै आएको छ।

कस्तो अवस्थामा छन् पुनर्स्थापना भएका मूर्ति?
कार्यक्रममा काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष आशामान संगत पनि सहभागी थिए। गत कात्तिक १७ गते उनको वडामा छैटौँ शताब्दीको ब्रह्माको मूर्ति पुनर्स्थापना भयो। ४० वर्षअघि चोरी भएर धोबीघाटमा भेटिएको सो मूर्ति विभिन्न कारणवश २०३८ सालदेखि गौशाला प्रहरी वृत्तमा अलपत्र थियो।

“९० सालको भूकम्पअघि नै मन्दिर जीर्ण भई अवशेष बाँकी थिएन। कुनै तस्बिर पनि नहुँदा मन्दिर बनाउनै समय लाग्यो,” अध्यक्ष संगत भन्छन्, “यसबीच जनआन्दोलनका क्रममा गौशाला प्रहरी वृत्तमा आगजनी र क्षति भयो। तर, पुरातात्त्विक महत्त्वको सो मूर्ति कसोकसो आगजनी र तोडफोडबाट बच्यो।” हाल मूर्ति र मन्दिर दुवै नित्य पूजाआजासहित सञ्चालनमा छन्।

null

गत फागुन २० गते ५०० वर्ष पुराना तीन वटा पौभा (चित्रकला) नेपाल फिर्ता आए। ४५ वर्षअघि चोरी भएका ती पौभा अमेरिकाको ‘आर्ट इन्स्टिच्युट अफ सिकागो’बाट फिर्ता ल्याइएको थियो। पौभा फिर्ता अभियानमा आबद्ध सरस्वती रश्मी शाक्यका अनुसार हाल ती पौभा इतुम बहालको संग्रहालयमा राखिएका छन्। चलनअनुसार, इतुम बहालको श्री भास्कर केशचन्द्रकृत पारावत महाविहारको भण्डारमा राखिने सो पौभा गुँला पर्वमा एक महिना बाहिर प्रदर्शनी गरिन्थ्यो। करिब दुई वर्षअघि विवादका बीच सञ्चालनमा आएको संग्रहालयमा ती पौभा राखिनु कति जायज हो भन्ने ठम्याउन नसकेको उनी बताउँछिन्।

“म संग्रहालयको पक्ष वा विपक्षमा छैन। तर, पहिलेको चलनलाई निरन्तरता दिने वा संग्रहालयमा प्रदर्शनीमा राख्ने– कुन ठीक हो, बुझ्नै गाह्रो भइरहेको छ,” उनले भनिन्। उनको भनाइमा, यस्ता कलावस्तु र मूर्ति फिर्ता भएसँगै तिनको व्यवस्थापनका विषयमा समुदायमा पर्याप्त बहस र छलफलको आवश्यकता देखिन्छ।

null

कोही उत्साही, कोही अन्योलमा
कार्यक्रममा सहभागी बुंगमतीका अनिल तुलाधर पेसाले आर्किटेक्ट हुन्। उनी बुंगमतीका १०औँ शताब्दीको स्ट्यान्डिङ बुद्ध र ८औँ शताब्दीको श्रीधर विष्णुको मूर्ति फिर्ता हुने पर्खाइमा छन्। तर, नेपाल सरकारको नियमअनुसार ती मूर्तिहरू पहिले संग्रहालयमा राखिन्छन्। उत्पत्तिस्थलमा फर्काउन सबै प्रक्रिया पूरा भइसक्दा पनि किन समय लागिरहेको हो, उनले बुझ्न सकेका छैनन्।

उनका अनुसार, समुदाय फिर्ता आउन लागेको मूर्ति हेर्न र पूजा गर्न लालायित छ। “हाम्रा भगवान् फिर्ता भएसँगै जात्रा र भोजसहित स्वागत गर्न हामी तयार छौँ,” उनले भने, “वृद्धवृद्धादेखि बालबालिकासमेत उत्साहित छन्। कतिपयले मूर्ति फिर्ता गर्न ढिला भएकोमा गुनासोसमेत गर्न थालिसक्नुभयो।”

बुंगमतीबाटै हराएको भैरव (आजु अजी)को मुकुन्डो पनि भेटिनेमा स्थानीय आशावादी छन्। “बुढापाकाहरू ‘आजुअजी कहिले भेटिनुहुन्छ, कहिले आउनुहुन्छ’ भनेर सोधिरहन्छन्,” तुलाधरले भने, “तर, फिर्ता आएका भगवान्का मूर्ति पनि हामीले घर लैजान पाएका छैनौँ।”

उनका अनुसार, बुंगमतीमा मुख्य मूर्ति मात्र नभई प्रतिमूर्ति (रेप्लिका)समेत बनाएपिच्छे चोरी भएका छन्। समुदायको यो उत्साहले आफूलाई हराएको मूर्ति खोजीमा अझ प्रेरित गरेको उनले बताए।

यस्तै, अवस्था पाटनको चोभारस्थित गाः हिटी (गहिरो ढुंगेधारा) को पनि छ। त्यहाँबाट हराएको उमामहेश्वरको मूर्ति हाल राष्ट्रिय संग्रहालय छाउनीमा छ। यद्यपि, सम्बन्धित गुठीघर जीर्ण अवस्थामा भएकाले नजिकै रहेको मूर्ति फिर्ता लैजान नसकिएको चोभार टोल संरक्षण समितिका दिनेश महर्जन बताउँछन्। “मूर्ति नजिकैको संग्रहालयमा छ, हामी हेर्न पनि गएका छौँ। गुठीघर बन्नेबित्तिकै विधिविधान र बाजागाजासहित मूर्ति फिर्ता ल्याउन टोलबासी सबै उत्साहित छौँ,” महर्जनले भने।

एकातर्फ समुदाय उत्साही छ भने अर्कोतर्फ केही यस्ता उदाहरण पनि छन् जहाँ समुदाय अन्योलमा छ। फिर्ता आएका मूर्तिलाई समुदायमा पुनर्स्थापना गर्ने वा नगर्ने भन्नेमा ठोस निर्णय हुन सकेको छैन। उदाहरणका लागि, एक वर्षअघि फिर्ता भएको भैरवको जोडी ख्वपाः (मुकुन्डो)।

null

दोलखाबाट हराएको सो मूर्ति फर्काउने विषयमा मतभेद कायमै छ। सम्बन्धित नक्छेमी परिवारबाटै हाल मूर्ति फिर्ता लैजान नसक्ने जानकारी आएपछि फिर्ता प्रक्रियामा अल्पविराम लागेको हो। “नक्छेमी परिवारभित्रै विवाद देखियो। खास कारण के हो स्पष्ट हुन सकेन, तर भूकम्पपछि ढलेको घर (आगं छेँ) बनेपछि मात्रै मूर्ति राखिने कारण अहिलेसम्म दिइएको छ,” दोलखाको मूर्ति फिर्ता अभियानमा लागेका स्थानीय अनिल चन्द्र श्रेष्ठले कार्यक्रममा भने।

धुलिखेलबाट ४० वर्षअघि हराएको उमामहेश्वरको मूर्ति २० वर्षयता पाटन संग्रहालयमै छ। फिर्ता अभियानमा सक्रिय स्थानीय अरबिन माकजु र एक युवा समूह मूर्ति फिर्ता ल्याएर साबिककै स्थानमा राख्न इच्छुक छ भने अर्को युवा समूह सुरक्षाको कारण देखाउँदै विरोध जनाइरहेको छ। त्यस्तै, मेयर अशोककुमार ब्यान्जु श्रेष्ठले धुलिखेलमा बन्न लागेको संग्रहालयमै राख्ने योजना बनाएका छन्। त्यहाँ समुदाय र जनप्रतिनिधिबीच नै मतभेद छ।

null

तर, फिर्ता भएका मूर्तिहरूलाई संग्रहालयमा मात्रै राख्न नमिल्ने पाटन संग्रहालयका अधिकृत सुरेश लाखे बताउँछन्। सन् १९७० मा युनेस्कोसँग गरिएको सन्धिअनुसार, कुनै पनि कलावस्तु वा मूर्तिलाई आफ्नो उत्पत्तिस्थलमै रहने व्यवस्थामा मात्र लैजान सकिने उनले बताए। “अन्यथा, सो मूर्ति अल्पकालीन समयका लागि सरकारमातहत संग्रहालयमा राखिन्छ,” उनी भन्छन्।

फर्पिङबाट हराएको सरस्वतीको मूर्ति यस्तै अन्योलको अर्को उदाहरण हो। ४० वर्षअघि हराएको र २० वर्षअघि फर्किएको सरस्वतीको मूर्ति अझै पनि छाउनी संग्रहालयमै छ।

मूर्ति फिर्ताको अन्योलबारे बहस भइरहँदा चाँगुनारायण मन्दिरका पुजारी आभास राजोपाध्यायले फिर्ता भएको मूर्तिलाई पुनर्स्थापना गर्ने नाममा अमूर्त सम्पदामाथि भइरहेको खेलबाडतर्फ ध्यानाकर्षण गराए। पटको टोलको लक्ष्मी नारायणकै मूर्तिको उदाहरण दिँदै उनले भने, “हाम्रो धार्मिक मान्यतामा कुनै पनि अंगभंग वा खण्डित भएका मूर्तिलाई पूजा गर्न मिल्दैन। सग्लो आएका मूर्तिमा पनि विधिवत् पूजाआजा भएपछि मात्र गर्भगृहमा राख्न सकिन्छ।”

null

“फेरि पुरानो हराएको मूर्तिको सट्टामा राखिएको प्रतिमूर्ति (रेप्लिका) पनि ३०–४० वर्ष पूजा भइसकेको हुन्छ। पूजा भइरहेको मूर्तिलाई के आधारमा निकालेर पुरानो मूर्ति राख्ने?” उनी प्रश्न गर्छन्, “यस्ता जटिलता अझै पनि छन्। हाम्रा देवीदेवता फर्किरहँदा ती मूर्तिको अस्तित्वको संकटबारे पनि बहस गर्नु पर्नेछ। यसमा समुदायको भूमिका अहम् हुन्छ।”

मूर्ति पुनर्स्थापनाका विषयमा कुनै समुदायमा देखिएको उत्सुकता र कतै देखिएको अन्योललाई समुदायको परिवर्तित मूल्यमान्यता र अपनत्वको भावनाले प्रभाव पारेको विज्ञहरू बताउँछन्। एनएचआरसीका अध्यक्ष कनकमणि दीक्षित मूर्ति फिर्ता वा पुनर्स्थापना जुनसुकै सवालमा समुदाय नै प्रमुख हुने बताउँछन्। यस्ता जटिल विषयको कुनै एउटा सिंगो वा साझा समाधान नहुने भन्दै सम्बन्धित समाजले जस्तो निर्णय लिन्छ, त्यही अन्तिम हुने उनको भनाइ छ।

वर्तमान समयमा नयाँ पुस्तालाई यी विषयमा जानकार गराउने मात्र नभई युवाको ऊर्जा र प्रविधिको प्रयोगले ‘एकांगी सोच’लाई चुनौती दिनुपर्नेमा उनले जोड दिए। “मूर्तिलाई पुनर्स्थापना गर्ने/नगर्ने वा संग्रहालयमा राख्ने, अनि हराएको मूर्तिको सट्टामा प्राणप्रतिष्ठा गरिराखेका मूर्तिको व्यवस्थापन कसरी गर्ने– यो सबै समुदायको अन्तिम निर्णय हो,” उनी भन्छन्।