घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व संकलनमा पनि ह्रास

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन।

काठमाडौँ– देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको छ। कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ। 

कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलन लक्ष्यअनुसार हुन सकेको छैन।  

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन। कात्तिकमा देशभरका मालपोत कार्यालयले २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेका थिए।  

असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार, भदौमा ३ अर्ब १४ करोड ७ लाख १६ हजार तथा साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो। 

विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिस्ट्रेसन दस्तुर १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ संकलन भएको थियो।