गृहमन्त्रीले केटाकेटीपन देखाएः रमेशजंग रायमाझी

संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पद प्राप्तिपछिको उत्साह अहङ्कार भएको कांग्रेस नेता रायमाझीको टिप्पणी छ। 

काठमाडौँ– नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिनमै मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गरेका छन्।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीले सरकारको प्रतिनिधिभन्दा प्रतिपक्षको भूमिकामा उभिने भन्नेबाट कानूनको पालना नहुने बताएका हुन्।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पद प्राप्तिपछिको उत्साह अहङ्कार भएको उनको टिप्पणी छ। 

उनले कानूनको भुमरीमा परेर सफाइ नपाएको व्यक्ति नै स्वार्थ बाझिने गरी राज्यमा प्रमुख निकायमा रहँदा यो शासन व्यवस्थाले मूल्य र मान्यतालाई कायम गर्न नसक्ने उल्लेख गरे। उनले संविधानमा व्यवस्था भएका मौलिक हकमा राज्य गम्भीर नबन्दा धेरै शान्ति सम्झौतामा भएका काम गर्न बाँकी रहेको बताए।

उनले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नहुँदा नागरिक नागरिकता पाउनबाट वञ्चित बन्नुपरेको उल्लेख गर्दै आगामी संसद्ले त्यसको अन्त्य गर्नुपर्ने बताए।