भाषा विषयमा विज्ञानी मात्रै हुन खोज्दा भावनाको ख्याल हुँदैन। भुलिँदै जाइन्छ, जुन ठूलो भूल हुन पनि सक्छ। धेरै जान्नु वा भनौँ, जानेको जस्तो गर्नु गल्ती हुन्छ।
जिन्दाबाद र मुर्दावाद भन्दै बस्नुपर्ने बाध्यतामा बाँचेको (बसेको) मानिसलाई विवाद जहिले तहिले उपलब्ध छ। अहिले नेपाली भाषामा सिर्जित विवाद [ड़] (रेट्रोफ्लेक्स फ्ल्याप) र [ढ़] (एस्पिरेटेड रेट्रोफ्लेक्स फ्ल्याप) मुनि थोप्ला लाउनु हुन्छ र [ड] र [ढ] मुनि थोप्ला लाउनु हुँदैन भन्ने विषयसँग सम्बद्ध छ। प्रारम्भमै स्पष्ट पारौँ, यो विवाद नेपाल देशभित्रको होइन, दार्जिलिङ, सिक्किम र आसामका नेपाली भाषी भारतीय समुदायको हो।
थोप्ला लाउने (लाएर लेख्ने)हरू हिन्दी (भाषा)बाट प्रभावित र थोप्ला नलाउने (नलगाई लेख्ने) हरू नेपाल (देश)मुखी बनेको घोषित/अघोषित आरोप-प्रत्यारोप खेपिरहेको स्थिति यति बेला भारतीय नेपाली भाषीको छ। थोप्लाको मुद्दा सिक्किमको उच्च न्यायालयसम्म पुगेर निर्णय पनि आइसकेको छ। सार संक्षेपमा त्यस आदेशलाई यसरी बुझ्न सकिन्छ, 'अबदेखि [ड] र [ढ] मुनि थोप्ला नलगाएका पुस्तकहरू मान्य हुने छैनन्।' 'मान्य हुनको लागि थोप्ला लगाएर पुनः प्रकाशन गर्नुपर्ने छ।' पञ्चम वर्णबारे पनि कलह छँदैछ। यस लेखमा चाहिँ [ड] र [ढ] विषयमा नै केन्द्रित रहौँ।
[ड़] र [ढ़] र [ड] र [ढ] विवाद अहिलेको होइन। ठ्याक्कै कहिलेबाट हो भनेर ठम्याउन गाह्रो छ। तर यति कुरा निश्चित भएर भन्न सकिन्छ कि थोप्ला विवाद अहिलेको नभएर पहिलेकै हो। प्राय:ले थोप्ला लगाउने क्रम हिन्दी भाषी मास्टर (शिक्षक) हरूको नेपाली भाषी समुदाय/विद्यालयहरूमा प्रवेशपश्चात् ग्रहण गरिएको मान्छन्। डा.इन्द्रबहादुर राईले नेपाली साहित्य सम्मेलन, दार्जिलिङमा नेपाली भाषाको संवैधानिक मान्यता दिवस (सन् २००९) मा दिइएको भाषण अनुसार सन् १८७० तिरबाट सन् १९३३ सम्म लगभग ६५ वर्षसम्म बिहारका मास्टरहरूले दार्जिलिङमा नेपाली भाषा पढाएका थिए।
र, उनीहरूले नै हामीलाई नेपाली पढ्न/लेख्न सिकाए भनी बताउनुभएको छ। सोही क्रममा डा.इन्द्रबहादुर राईले सन् १९३४ देखि गन्दै ल्याएर स्वयंले नेपाली साहित्य सम्मेलनमा राखेको भाषणको साल (सन् २००९) सम्म जोडेर भारतमा नेपालीहरूले [ड़] र [ढ़] पढेको र लेखेको ७५ वर्ष भयो भनी बताउनुभएको छ। डा. राईले यस कुराको उल्लेख गरे पनि भारतमा नेपालीहरू सबैले नै थोप्ला लगाएरै लेखे भन्नेचाहिँ होइन। डा.राईले नै आधार बनाएको समय क्रम गणना गर्दा अहिले सन् २०२५ मा [ड़] र [ढ़] पढेको लेखेको ([ड] र [ढ] मा थोप्ला लगाएको) ९१ वर्ष भइसकेछ। यद्यपि हिजोदेखि आजसम्म नै [ड़] र [ढ़] सराबरी लेखेका थिएनन् र छैनन् पनि।
बिहारी मास्टरहरूको झोलातुम्बीबाट नै नेपालीमा थोप्ला झर्यो (पर्यो) भन्नू,करिब करिब दाबी नै गर्नु कति युक्तियुक्त हुन्छ? यो पनि एउटा प्रश्न नै होला। यद्यपि, यो विवाद यत्ति तीव्र रूपले विगतमा चलेको चाहिँ थिएन भन्नू अत्युक्ति नहोला।
[ड़] र [ढ़] मुनिको थोप्लोको विवाद त भयो र रह्यो नै। अब थोप्ली, थोप्लो र थोप्ला शब्द मै पनि विवाद नहोला भन्न सकिन्न। कारण संवाद पो यहाँ गाह्रो छ, विवाद त हर कोहीलाई सजिलो छ। तर त्यही सजिलो कुरा नै वास्तवमा कति बोझिलो छ भनिसाध्दे र सुनिसाध्दे छैन। नेपाली भाषीहरूको मूल समस्या के हो भने विविध विशेषता पनि खोज्ने। विशेषता बेगर बस्नै नसक्ने। अनि त्यही विशेषतामाथि दुःख पुकारा पनि गर्ने! हाल उचाल्लिइरहेको थोप्लो विवाद यही विडम्बनाको बिँडो उक्लाइ हो, चढाइ हो। तर यसैबाट उत्क्षिप्त सुखको कुराचाहिँ यो हो कि विवादले गम्भीर बहसको माग गरेको छ। बस चिन्ता यही छ–गम्भीर बहस तहसनहस भयो भने!
[ड़] र [ढ़], [ड] र [ढ] कै संवर्ण (एलोफोन) हो भन्ने अधिकांश भाषाविद्हरूको मत छ। फेरि, भाषाविद् कसलाई मान्ने/नमान्ने यसको छुट्टै बहस छँदैछ। महानायक कसलाई मान्ने भनेझैँ। उनीहरूबाट अग्रसारित तर्क छ, डाँडा र डाँडामा कुनै भेद छैन। वर्ण सिद्धान्तका आधारमा [ड]कै अर्को रूप [ड़] हो। [ड़] [ड] कै ताडित (फ्ल्याप) उच्चारण हो, जुन स्वतन्त्र वर्ण नभई [ड] को संवर्ण मात्र हो।
मानिसको जिब्रोले के के उच्चारण गर्छ, सोची साद्धे र सुनी साद्धे छैन। जिब्रो आफै जिउरो भन्नू कि जिभ्रो भन्नू? भाषा विज्ञान अनुसार भाषाका ध्वनिहरू असङ्ख्य हुन्छन्। र नै भाषाका वर्णहरूलाई सीमित सङ्ख्यामा स्थापित गरिन्छ। या भनौँ देखाइन्छ, बुझाइन्छ। व्याकरणाचार्यहरूले संस्कृत भाषा (संस्कृत भाषालाई नेपालीको हजुरआमा पनि मान्ने गरिन्छ) को व्याकरणिक आधार महेश्वर सूत्रलाई मान्छन्, जसमा कहीँ कतै पनि [ड] र [ढ] मुन्तिर थोप्ला नभएको बताउँछन्।
[ड़] र [ढ़] बारे हिन्दी भाषामा [ड़] को उच्चारण अंशत: [ड] अनि [र] बीचबाट उत्पन्न भएको मानिएको छ। साथै [ढ़] पनि [ड] र [र] को महाप्राण ध्वनि रहेको बताइएको छ। [ड] को उच्चारण गर्दा जिब्रो पिटिँदैन। जसको फलस्वरूप शब्दको आरम्भ हुन्छ। जस्तै-डमरु,डेरा आदि। अब [ड़] को उच्चारण गर्दा झट्काले जिब्रो पल्टिँदा शब्दको आरम्भमा [ड़] आउन सक्दैन र शब्दको मध्य (बीच) र अन्तमा आउँछ।
उदाहरणार्थ- सड़क,पहाड़ इत्यादि। यो थोप्ला प्रयोगमा हिन्दी भाषामा पनि सर्वसम्मत स्वीकार्यता चाहिँ छैन। तर विवाद भने सर्वत्र छैन। बाङ्ग्लामा पनि (ড >> [ড়], ঢ >> [ঢ়])पाइन्छ। त्यहाँ पनि लेख्ने चलन चलिरहेको छ। यहाँजस्तो कोकोहोलो छैन।
नेपालमा [ड़] र [ढ़] को साटो [ड] र [ढ] मात्रै लेखिन्छ। किन थोप्ला लाइएन? नेपालमा थोप्ला नलगाई लेख्नुको आधार लघुतम युग्मकै (मिनमल पेयर) नियम अनुरूप हो? कि भारतीय नेपाली भाषाको तुलनामा नेपालको नेपाली भाषा थप विशेष हुनु हो? या अन्य कुनै कारण? भाषाको कुनै सिमाना हुँदैन भनिए तापनि भाषा राजनीतिक भूगोलभित्र संरचित हुन बाध्य हुन्छ, जसमा भाषाले आफ्नै राजनीति सुहाउँदो शिरसोभा खोज्छ। यस मानेमा [ड़] र [ढ़] मुनिको थोप्ला भारतीय नेपाली भाषाको पाउसोभा पो हो कि? आखिरमा शोभा भन्ने कुरा शिरको मात्रै हुन्छ र?
भाषा विषयमा विज्ञानी मात्रै हुन खोज्दा भावनाको ख्याल हुँदैन। भुलिँदै जाइन्छ, जुन ठूलो भूल हुन पनि सक्छ। धेरै जान्नु वा भनौँ, जानेको जस्तो गर्नु गल्ती हुन्छ। यस कारण भावनाले सिर्जेको त्यत्रो बृहत् संसारको सुन्दरता खजमज्याउने हठी हात (कलम) पनि त हुनुभएन नि। किनकि [ड़] र [ढ़] यतिका समयावधिसम्म यहाँ लेखिआइएको छ। जसको आत्मिक अवकाश पनि त छ। अनि यति सजिलै हाहाहुहु गर्न मिल्छ त? सापेक्षित वञ्चनाको भाव (फिलिङ अफ रिलेटिभ डेप्राइभेसन) को सवाल पनि त होला। थोप्ला त हो नि भनेर हियाउने? स्टीभ जब्सले स्ट्यान्फोर्ड स्पिचमा 'कनेक्टिङ द डट'बारे सूक्ष्म रूपमा बुझाएका छन् डट (थोप्ला) को जगले जोडेको विरासत। आफूले आफैलाई पछि फर्केर हेर्दा,आफैलाई नै पाउनुपर्यो नि, न कि अरूलाई नै। यस मामलामा हाम्रो ऐतिहासिकीको समाहितताका लागि थोप्ला ([.]) चिह्न पनि सहायक हुँदैन र? उसै पनि भारतीय नेपाली भाषी (जाति) चिनारी स्थापत्यमा सङ्घर्षरत नै छन्। यस तात्पर्यमा [ड़] र [ढ़] अर्थको एक चुट्की (अ पिन्च अफ मिनिङ) कसो बनिन जाला?
नेपालमा [ड़] र [ढ़] नलेखिनु गलत भनेर यहाँ बुझ्नु भएन। भारतमा थोप्ला लाएर लेखिनुले नेपालमा [ड] र [ढ] सही हो भन्ने पनि त बुझ्नु भएन र बुझिएको छैन नै होला। नेपालको भाषा नेपाली हो। भारतको पनि नेपाली भाषा हो। तर नेपालको नेपाली भाषालाई नै भारतको नेपाली भाषा बुझ्नु भएन अथवा बुझ्दै जानू भएन। त्यस्तै, भारतको नेपाली भाषालाई नै नेपालको नेपाली भाषा बुझ्नतिर पनि लाग्नुभएन। कारण यहाँ भाषा भन्नुअघि नेपाल (देश) आएको छ र भारत (देश) आएको छ। नेपाली भाषा त एउटा हो, एउटै हो। तर विशुद्ध 'नेपाली भाषाको मात्रै' बहस अब सायदै सम्भव छ। भारत र नेपालका नेपाली भाषाले के कस्ता राजनीतिक,सामाजिक र सांस्कृतिक डोब हिँडिआयो र हिँडिरहेको छ। यता पनि त विचार्नु पर्यो होला। क्वारक्वार चाहिँ जङ्गलमा गर्ने अनि अण्डाचाहिँ खोलेसोमा खोज्ने?
तपाईँले अहिले पढिरहेको लेखमा थोप्लो छैन। कारण यो नेपाल सरहदबाटै प्रकाशित भएर आइरहेको छ। लेख पठाउँदा पनि थोप्ला लाएर पठाएको थिइनँ।
जसको अर्थ यो होइन कि म थोप्ला विरोधी हुँ। फेरि यसको अर्को अर्थ यो पनि होइन कि म थोप्लावादी हुँ। हरेक कुरालाई कित्ताकाट गर्नै पर्छ भन्ने छैन। मसित लेख्नको लागि त्यो सुविधा (डिजिटल टुल्स) उपलब्ध पनि छैन। मानिसले जे सुविधा पाउँछ र पहुँचमा हुन्छ, त्यही नै गर्ने हो, गर्दै जाने हो। भाषाको परिभाषा दिइँदा भनिएकै छ, 'भाषाले जहिले पनि सहजताको खोजी गर्छ।' 'डाँडा' भन्दाचाहिँ कुनै प्रेमी आफ्नो प्रेमीका खोज्दै बेसी (फेदी) तिर हिँडेको र 'डाँडा' भन्दा मात्रै ठिक ठाउँमा (डाँडा) पुगेको भन्ने थिएन होला। दुवै सोझै सोही स्थानमा पुगेकै थिए। डाँडा र डाँडा सहजै थियो।
फेरि यस्तो विवाद ल्याएर (यस प्रकारको अनिवार्य लेखिनुपर्ने निर्णय) लागु गर्न खोजेर हामी सामान्य मानिसलाई दोमन (असहज) किन बनाएको? के यो भाषा विज्ञानकै एउटा विशेषताको विरुद्ध भएन र? केके वादकै मात्र छाँद नहालौँ न। अपवाद नै सही [ड़] र [ढ़] चलिरहेकै थियो त। वास्तवमा मानिस वादमा भन्दा धेर अपवादमै बाँच्छ। चलन हो र थियो। जुन यहाँ चलेकै थियो त। उस्तो चकचक के नै पो गरेको थियो र? चुपचाप नै आत्मसात् भएकै थियो- [ड़] र [ढ़] अनि [ड] र [ढ]।
नेपाली साहित्यमा आदिकवि र प्रथम कवि दुवै हुँदा पनि भइरहेको छ त! हुन त आदि भनेको पनि पहिलो, सुरुको हो र प्रथम भनेको पनि पहिलो र अगाडिको नै भनेको हो। होइन र? दुवै एउटै कुरा नै हो। तर पनि बेग्लाबेग्लैको अर्थमा प्रयोग भइरहेको छ त! यहाँ सजिलो असजिलो हुन्छ। तर अप्ठ्यारो पठ्यारो हुँदैन त? केही केही कुरा भइरहेर नै नभइरहेको हुन्छ। केही केही कुरा नभइरहेर भइरहेको हुन्छ। यसरी त्यसरी नै गइरहेको पनि हुन्छ। उपयोगिता र उपादेयता खोजी निकाल्नु मात्रै उपलब्धि हुँदैन।
यति बेला थोप्लो विवादको केन्द्रस्थल सिक्किम बने पनि दार्जिलिङबाट नै गहन विमर्शको उठान भएको (जुन जारी नै) छ। चिन्तक सञ्जय विष्ट, वर्तमान समयका तिक्खर विवेचक प्रणय शङ्कर र अध्येता टीका भाइले यस विषयलाई सघनताका साथ आ-आफ्ना सुतीक्ष्ण विचारहरू राखेको देख्न पाइरहेका छौँ, जसबाट हामी सामान्य पाठक लाभान्वित बनिरहेका छौँ।
भारतीय नेपाली भाषामा [ड़] र [ढ़] लाई वर्णको रूपमा स्थान नदिएर संवर्णको रूपमा नै स्थापित गराउने एकाधिक पक्षको जोड छ। जसमा उनीहरूद्वारा प्रस्तावित तर्क (आधार) भनेको [ड़], [ढ़] नेपालीमा ध्वन्यात्मक (कन्ट्रास्टिभ) छैन। [ड़] वर्णको ‘लघुतम युग्म’ (मिनिमल पेयर) बनाउन सकिँदैन। यसै कारणले [ड़] र [ढ़] नेपालीमा लेखिरहनु विज्ञानसम्मत छैन। ठिकै हो, यो कुरो विज्ञानसम्मत छैन। तर 'लघुतम युग्म' नभएमा त्यसलाई वर्णबाट ‘बाहेक’ गरिनुपर्छ भन्ने कुरा पनि त विज्ञानसम्मत होइन नि! विज्ञान पनि त धेरै कुरामा मौन छ। बोलेकै कुरा मात्र सही छ भन्ने पनि होइन होला। आखिर यहाँ जाँड खाने र जाँड खाने दुवै मातिरहेकै छन्। व्यर्थै केको टन्टालन्ठा?
विज्ञानसम्मत कुरा पनि भन्ने अनि एकोहोरो पनि गर्ने? यस्तो एकोहोरो कुरा हो भने विज्ञान होइन, अज्ञान हो। विज्ञानको लागि दोहोरो तेहरो विचार जरुरी छ। भाषा विज्ञानमा भाषाको विशेषता बुझाउँदा भाषा 'यादृच्छिक' (आर्बिट्रारिनेस) हुन्छ भन्ने अनि अहिले थोप्ला लाउँदा रोइलो गर्नु कति तर्कसङ्गत छ? [ड़] र [ढ़] लाई यादृच्छिक व्यवस्था अनुरूप पनि हेर्न सकिँदैन र?
रामलाई स्थापित गर्न सुप्रीम कोर्ट अघि आउनुपर्यो। (किन आउनुपर्यो, यस लेखको विषय होइन।) अनि अहिले थोप्लालाई स्थापित गर्न पनि उही तन्त्र? हालैमा राहुल देबको 'इन्डियन ल्याङ्ग्वेजेस एन्ड द क्वेश्चन अफ डेमोक्रेसी' लेक्चर सुन्दै थिएँ। जसमा उनी भन्छन्, ''लोकमा तन्त्रको भाषा हाबी हुन्छ।'' थोप्ला लाउनुपर्ने यस्तो बाध्यकारी निर्णय पनि लोकमाथिको थिचोट होइन त? गणेशलाल सुब्बाले कतै लेख्नुभएको सम्झन्छु, 'मानिस उ के गर्दै छ, किन सङ्गठनमा एकबद्ध छ, सो धेरथोर जान्दछ। उ आफ्नो कामको के फल हुन्छ सो धेरथोर बुझ्छ अर्थात् उ आफ्नो काम र सङ्गठनका सम्बन्धमा धेरथोर सचेत छ।' त्यसैले धेरथोर सचेतता त राखौँ। कारण सङ्गठन र टोली त किरा कमिलाको पनि होला नै।
भाषाले बनिएको भारतमा भाषा कति संवेदनशील छ, हुन्छ? यो ज्ञातव्यको विषय होइन र? तन्त्रद्वारा निर्मित निर्णय पछिल्तिरको राजनीति के हो? प्रश्न यतातिरको पो हो। बजिरहेको गीत मात्रै होइन, कहिलेकाहीँ गीत पछिल्तिरको कोरस सुन्नु पनि निक्कै महत्त्वपूर्ण हुन्छ। विवेचक प्रणय शङ्करले थोप्ला विवादमा राखेको विचारको गुह्य पनि यतैतिर छ। जसको जरा पत्ता लगाउनु जायज छ। शङ्करले माटो आफैले खन्छु भनेकै छन्! हामीले हेरौँ न, माटो नै मात्र निकाल्ने हुन् कि जरा नै देखाउने हुन्। त्यो बाटो कुरी हेरौँ।
सारांशमा, यो थोप्ला विवाद विभिन्न विषयसितै विस्तार भएको छ। यसले खोतलेको विविध पक्ष र पाटामा बहस होस्। जसले नेपाली भाषाको विकास गरोस् न कि विनाश। हरेकबाट विचार आओस् तर एकको विचारले मात्रै एकै जनालाई पनि अत्याचार नगरोस्। नेपाली भाषाको जय होस्, भलो होस्।
(उकालोको विचार खण्डमा छापिएका सामग्री व्यक्तिका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
